एनओसीको निर्वाचन मान्य नहुने मन्त्री चौधरीको चेतावनी
काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आसन्न नेपाल ओलम्पिक कमिटी एनओसीको निर्वाचन मान्य नहुने बताएका छन् ।
उच्च अदालत पाटनको आदेश उल्लंघन गर्दै शनिबार हुने भनिएको एनओसीको निर्वाचन मान्य नहुने मन्त्री चौधरीले बताएका हुन् । अनलाइनमार्फत् उम्मेदवारी दर्ता गराइएकोमा आपत्ति जनाउँदै उनले पटक पटक गरिएको पत्राचार बेवास्ता गर्दै यसबाट निम्तिने परिणामका लागि एनओसी नै जिम्मेवार हुने बताए ।
ऐन नियमको बर्खिलाप भइरहेको क्रियाकलाप बारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई पत्राचार गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
एनओसीको विधान संशोधनविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले यथास्थितिमा राख्नु भनि आदेश दिएको थियो । तर मंसिर १८ गते विशेष साधारणसभा गरी अध्यक्ष जीवनराम श्रेष्ठले अध्यक्ष र महासचिव २ पटकबाट बढाएर ४ कार्यकालसम्म दोहोर्याउने पाउने र उमेर हद पनि ७० वर्षबाट ७५ वर्ष पुर्याएका थिए ।
विधान संशोधन गरेर अध्यक्ष श्रेष्ठ तेस्रो पटक एनओसी अध्यक्ष बन्ने दाउमा छन् । शनिबार हुने भनिएको निर्वाचनमा उपाध्यक्ष्य सहित सबै पदाधिकारी निर्विरोध चयन हुँदा अब अध्यक्षका लागि मात्रै प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि वर्तमान अध्यक्ष श्रेष्ठसहित निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया