खेलकूद

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश

हिमालय टिभी
२०८१ पुष ३ गते १६:४४
सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान पक्का गरेको छ ।

आज भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । पराजित जनकपुरले भोलि दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पुनः एकपटक फाइनल प्रवेशको अवसरका लागि प्रतिस्पर्धाको मौका पाउने छ । जनकपुरले आजको एलिमिनेटरको विजेता कर्णाली याक्ससँग खेल्नेछ ।

टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदा २ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमको सहज जितमा ओपनर बिनोद भण्डारीले ५५ बलमा ५८ रनको अर्धशतकीय अविजित इनिङ खेले । त्यस्तै ब्रान्डन म्याकमुलनले २५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे । त्यसअघि ओपनर साइफ जैबले ३२ रन बनाएका थिए ।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । जनकपुरका लागि जिमी निसमले २३ बलमा ४५ रनको इनिङ खेलेका थिए । उनी बाहेक थप दोहोरो स्कोरका रुपमा कप्तान आसिफ शेखले ११ रन बनाउँदा लाहिरु मिलन्था १२ रनमा आउट भए । त्यस्तै शुभ कंसकार २६ रनमा आउट हुँदा हर्ष थकर १२ रनमा पेभिलियन फर्किएका थिए । अरनिको यादव ११ रनमा आउट भएका थिए । सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा साइफ जइबले २ विकेट हात पारे । त्यस्तै स्कट कुग्लिङ् र अभिनाष बोहराले समान १–१ विकेट लिए ।

आजै भएको एलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायर्समा स्थान बनाएको हो । १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १५४ रनमात्र बनाउन सक्यो । पराजित भएसँगै चितवन एलिमिनेटबाटै बाहिरीएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *