एनपीएलमा कसको पल्लाभारि ?
काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको उपाधिका लागि भोली सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुरुवातदेखि नै दाबेदारी प्रस्तुत गरेका सुदूरपश्चिम र जनकपुर लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । फाइनल अघि आज भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोली उपाधि चुम्नेमा विश्वस्त देखिन्छन्।
एनपीएलको सुरुवातदेखि नै शान्दार प्रदर्शन गरेका सुदूरपश्चिम र जनकपुरले फाइनलको यात्रा तय गरे । लिग चरणका ७ मध्ये ६ खेल जित्दै १२ अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा र ५ खेल जितेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । जहाँ जनकपुरविरुद्ध बाजी मार्दै सुदूरपश्चिम फाइनलमा पुग्दा दोस्रो क्वालिफायर्समा कर्णालीलाई हराउँदै जनकपुरले फेरी एक पटक सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।
जारी प्रतियोगितामा यि दुईबीच हुन लागेको यो तेस्रो भेट हो । यसअघि लिग चरण र क्वालिफायर्समा भएको भेटमा सुदूरपश्चिम विजयी भएको थियो । फाइनलमा पनि सुदूरपश्चिम त्यही लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा रहँदा जनकपुर भने अघिल्ला दुई हारको बदला लिँदै उत्कृष्ट पुनरागमनको प्रयासमा छ ।
इम्पायर स्पोर्टसको स्वामित्वमा रहेको सुदूरपश्चिमले लिग चरणमा विराटनगर, काठमाडौं, लुम्बिनी, जनकपुर, पोखरा, कर्णालीलाई हराउँदा चितवनसँग हार व्यहोरेको थियो । आफ्नै प्रदेशका खेलाडीलाई प्राथमिकतामा राखेको सुदूरपश्चिममा मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरीसहित, विनोद भण्डारी, अविनाश बोहरा, अर्जुन कुमाल, नरेश बुढाएर जस्ता घरेलु र स्कट कुग्लेइन, सेफ जैब जस्ता स्तरीय विदेशी खेलाडीको साथ छ ।
अन्तिमसम्म पनि स्तरीय ब्याटिङ गर्न सक्ने खेलाडी रहेको सुदूरपश्चिममा पूर्ण कालिन बलरको अभाव देखिन्छ । तर स्कट कुग्लेइन फर्ममा हुनु टोलीको बलियो पक्ष हो । त्यस्तै, सेफ जैब, हरमित सिंह, दीपेन्द्र र अविनाशको बलिङ पनि सन्तेषजनक छ । नेपालका सफल प्रशिक्षक जगत टमाटा फ्रेन्चाईज लिगमा समेत सफल देखिएका छन् ।
जनकपुर बोल्ट्स
ड्रिम्स स्पोर्ट्स प्रालीको स्वामित्वमा रहेको जनकपुरले लिग चरणमा विराटनगर, कर्णाली, पोखरा, लुम्बिनी र काठमाडौंलाई हराउँदा सुदूरपश्चिम र चितवनविरुद्धको खेल हारेको थियो । कागजी रुपमा मध्यम नै देखिएपनि जनकपुरले सुरुवातदेखि बलिया मानिएका टोलीमाथि रवाफिलो जित निकाल्यो । कप्तान अनिल साह उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर चोट लागेर उनी पछिल्ला खेलमा मैदान बाहिर छन् । मार्की खेलाडी आसिफ शेख, जिम्मी निसम, लहिरु मिलान्थाको ब्याटिङ र ललित राजवंशी, किशोर महतो, मोहमद मोहसिनको बलिङ तथा हर्ष थाकेरको अलराउण्ड प्रदर्शन टोलीको जितको आधार बन्न सक्छ । तर पछिल्ला खेलमा एकरुपताको अभाव देखिएको जनकपुरले टोलीका रुपमा प्रदर्शन सुधार गर्नु आवश्यक छ ।
हेड टु हेड
सुदूरपश्चिम र जनकपुरबीच जारी प्रतियोगितामा २ पटक खेल भइसकेको छ । जसमा दुवै खेल सुदूरपश्चिमले जितेको थियो । लिगको १८ औं खेलमा भएको पहिलो भेटमा सुदूरपश्चिम ७२ रन र पहिलो क्वालिफायर्समा ८ विकेटको फराकिलो अन्तरले जितेको थियो । सुदूरपश्चिमविरुद्ध पहिलो भेटमा ब्याटिङ र दोस्रो भेटमा बलिङ फ्लप बन्दा जनकपुर ठूलो हार व्यहोरेको थियो । सुदूरपश्चिम र जनकपुरबीचको बहुप्रतिक्षित फाइनल शनिबार दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया