को बन्ला एनपीएलको उत्कृष्ट खेलाडी ?
काठमाडौं : नेपालको पहिलो एनपीएलको फाइनल भोलि हुँदैछ । क्रिकेटप्रेमीहरूमा उत्साहको लहर छ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स उपाधिका लागि भिड्दै गर्दा चर्चाको अर्को केन्द्र बनिरहेको छ, उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई दिइने ओमोडाको गाडी पुरस्कार।
दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल, र ललित राजवंशी जस्ता खेलाडीहरूको नामले फ्यानहरूमा कौतूहल थपेको छ। अलराउन्ड प्रदर्शन, विकेट, रन, र कप्तानीको भूमिकाले कसलाई यो विशेष पुरस्कार दिलाउने हो ? फाइनल खेलले यो प्रश्नको जवाफ दिनेछ। अझै पनि, सबैको नजर ती खेलाडीमा छ, जसले एनपीएलको पहिलो संस्करणलाई ऐतिहासिक बनाउन योगदान पुऱ्याएका छन्।
नेपालको पहिलो संस्करणको एनपीएल नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता आफ्नो उत्कर्षमा छ। प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। प्रतियोगिता सुरु भएदेखि नै विदेशी खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, उत्साहजनक दर्शक सहभागिता, र आकर्षक पुरस्कार प्रणालीका कारण यो चर्चामा रह्यो। फाइनल विजेताले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख जित्नेछन्। यसका साथै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले करिब ७० लाख रुपैयाँ पर्ने शारडा समूहद्वारा प्रायोजित ओमोडाको गाडी प्राप्त गर्नेछन्। यो पुरस्कारले खेलाडी र समर्थक दुवैमा थप उत्साह थपेको छ।
गाडी जित्नका लागि प्रमुख दाबेदार खेलाडीहरू
१. दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै सर्वोकृष्ट खेलाडीको प्रमुख दाबेदार बनेका छन्। उनले ८ खेलमा २१८ रन बनाएका छन्, जसमा २४ बलमा नटआउट ५७ रनको उत्कृष्ट पारी सामेल छ। उनले बलिङमा २१ ओभर गर्दै ८ विकेट हात पारेका छन्। फाइनलसम्म सुदूरपश्चिमलाई पुर्या उन उनको नेतृत्वदक्षता र अलराउन्ड प्रदर्शन महत्वपूर्ण रह्यो। अब फाइनलमा गर्ने प्रदर्शनले पनि गाडीको थप दाबेदार बनाउन सक्छ ।
२. रोहित पौडेल (लुम्बिनी लायन्स)
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले व्यक्तिगत प्रदर्शनमा उत्कृष्टता देखाए। उनी प्रतियोगिताका शीर्ष रन स्कोरर नेपाली खेलाडी हुन्। ७ खेलमा २७९ रन बनाएका उनले २ अर्धशतक प्रहार गरे। दुर्भाग्यवश, उनको टोली फाइनलमा स्थान बनाउन असफल रह्यो, तर उनको प्रदर्शनले उनलाई गाडी पुरस्कारको बलियो प्रतिस्पर्धी बनाएको छ।
३. कुशल मल्ल (चितवन राइनोज)
चितवनका युवा कप्तान कुशल मल्लले यो संस्करणलाई सम्झन योग्य बनाए। ८ खेलमा २२५ रन बनाउँदै र ९ विकेट लिँदै उनले उत्कृष्ट प्रदर्शन गरे। जनकपुरविरुद्धको ७२ रनको विष्फोटक पारी उनको विशेष उपलब्धि रह्यो।
४. ललित राजवंशी (जनकपुर बोल्ट्स)
जनकपुरका ललित राजवंशी बलिङतर्फ प्रभावशाली प्रदर्शन गर्दै सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ९ खेलमा १६ विकेट हात पार्दै इकोनोमी दर ५.५० राखे। उनको निरन्तरता फाइनलमा जनकपुरका लागि मुख्य हतियार हुनेछ।
कसले जित्ला ओमोडाको गाडी?
सर्वोकृष्ट खेलाडी छनोटका लागि रन, विकेट, फिल्डिङ प्रदर्शन, र टोलीलाई दिएको योगदान महत्त्वपूर्ण मानिन्छ। दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल, र ललित राजवंशीमध्ये जो कोही पनि यो पुरस्कार जित्न योग्य देखिन्छन्।
फाइनल खेलको नतिजा र प्रदर्शनले यीमध्ये एकको नाम इतिहासमा लेखिनेछ। पहिलो संस्करणको एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याधएको छ । उत्कृष्ट खेलाडीलाई सम्मानस्वरूप गाडी पुरस्कारले आगामी पुस्ताका खेलाडीलाई थप प्रेरणा दिनेछ। अब, सबैको नजर फाइनल खेल र यसको नायक बन्ने खेलाडीमा हुनेछ ।
प्रतिक्रिया