आर्थिक

नेपाल व्यापारघाटामा, के मा छ आत्मनिर्भर ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक ५ गते ६:४७
नेपाल व्यापारघाटामा, के मा छ आत्मनिर्भर ? (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०८० काठमाडौं । आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई हरेक सरकारले प्राथमिकताका साथ उठान गर्ने गर्छन । तर वैदेशिक व्यापारघाटाको आकार भने हरेक वर्ष बढ्दै गइरहेको छ ।

नेपालमै उत्पादन गरी आत्मनिर्भर बन्न सक्ने बस्तु पनि अर्बौं रुपैयाँको आयात हुँदै आएको छ । यतिसम्मकी सरकारले आत्मनिर्भर घोषणा गरेका बस्तुमै पनि पूर्ण आत्मनिर्भर हुन सकिएको छैन् । के केमा छ त नेपाल आत्मनिर्भर ?

२०७७ चैत १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक माछा, दुध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर घोषणा गर्नुभयो । अन्डा र कुखुराको मासुमा मुलुक २० वर्षयता पूर्ण रुपले आत्मनिर्भर छ । तर कुखुराको मासुमा आत्मनिर्भर भए पनि अवैध आयात भने रोकिएको छैन् ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा मासु मात्रै २ करोड ३४ लाख रुपैयाँको आयात भएको छ । यसैगरी, २ करोड ६० लाखको माछा आयात भएको छ । फ्रोजन मासु मात्रै ३८ लाखको आयात भएको छ । यसैगरी, अन्य प्रकारका मासु २२ लाखको आयात भएको छ ।

नेपाललाई दुधमा आत्मनिर्भर घोषणा गरिएको छ । तर सबै सिजनमा दूधको माग स्वदेशी उत्पादनले नधान्ने भएकाले खासगरि सुख्खायाममा भारतबाट आयात गर्ने व्यवस्था गर्नुपर्ने सुझाव छ । अहिले नेपाली बजारमा दैनिक ३५ लाख लिटर दूधको माग छ । त्यसमध्ये ३१ लाख लिटर दूध बजारमा आउँछ ।

यो माग पूरा गर्न डेरी उद्योगीहरुले भारतबाट धुलो दूध र कच्चा दूध आयात गर्न माग गरेका छन् । अन्डाको पनि अबैध आयात भइरहेको दाबी व्यापारीहरुको छ । स्वदेशमै उत्पादन गरि आत्मनिर्भर हुन सक्ने खाद्यान्न र तरकारीको पनि आयात उच्च छ । तरकारी, धान, चामल, भटमासको तेल लगायतका सामग्रीमा छिटै आत्मनिर्भर बन्न सक्ने सम्भावना छ ।

नेपालको वैदेशिक व्यापार घाटाको अवस्था निकै डरलाग्दो छ । बार्षिक १५ खर्बभन्दा बढीको व्यापारघाटा मुलुकले ब्यहोर्दै आएको छ । चालू आर्थिक वर्षको २ महिनामा मुलुकले २ खर्ब ५९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। तर निर्यात केबल २६ अर्ब ४४ करोड रुपैयाँको मात्र छ । उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार यी चार बाहेक चिया, पेन्ट्स, केबल तार, जुत्ता चप्पल, जस्तापाता, गार्मेन्ट र टेक्सटायल, औषधि, प्लाष्टिक उत्पादनमा नेपाल आत्मनिर्भरसँगै उच्च निर्यात गर्ने मुलुक हुने सम्भावन छ ।

यस्तै कृषि उत्पादनका लागि आवश्यक मालखाद, सिंचाइ र प्रविधिको उचित व्यवस्थापन गर्ने हो भने कृषि उत्पादन मकै, धान चामलसहित हरियो तरकारीमा पनि छिट्टै आत्मनिर्भर बन्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *