त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा हङकङविरुद्ध नेपालको सहज जित
४ कात्तिक २०८० काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी साझेदारीसँगै नेपालले त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा हङकङविरुद्ध ७९ रनको सहज जित हात पारेको छ ।
लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रृंखलामा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
उसलाई सस्तैमा समेट्न नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले २–२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जीसीले एक–एक विकेट झारे ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । सुरुवात राम्रो नगरेको नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।
त्यसपछि क्रिजमा आएका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे । टी–२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो ।
यसअघि न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १ सय २१ रनको साझेदारी गरेका थिए । मल्लले ९२ तथा ऐरीले ५७ रन जोडे ।
प्रतिक्रिया