एरिकाले दिलाइन् नेपाललाई एसियाडमा ऐतिहासिक पदक

२० असोज २०८० काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छन् ।
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३(० ले पराजित भएपछि एरिका रजतमा रोकिएकी हुन् । यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन ।
उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १(१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।
एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो । एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन् ।
नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३ औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् ।
एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा स्वर्ण जित्न सकेको छैन। पछिल्लो पटक सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।
प्रतिक्रिया