खेलकूद

एसियाड क्रिकेटमा देखाउला नेपालले जादू ? (ट्वेन्टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको तयारी) (भिडियो रिपोर्टसहित)

२०८० असोज २ गते २०:४९
एसियाड क्रिकेटमा देखाउला नेपालले जादू ? (ट्वेन्टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको तयारी) (भिडियो रिपोर्टसहित)

२ असोज २०८० काठमाडौं । झण्डै १ वर्षपछि पुरुष राष्ट्रिय क्रिकेट टोलीले ट्वेन्टी-ट्वेन्टी फरम्याटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । लामो समयदेखि एक दिवसीय क्रिकेट खेल्दै आएको नेपाली खेलाडी यतिबेला छोटो फरम्याटको क्रिकेटमा फर्किँदैछन् ।

यसै सातादेखि चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद नेपालका लागि ट्वेन्टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको तयारीका रुपमा समेत रहनेछ । नेपालको पछिल्लो समय सुधारिएको प्रदर्शनले सुखद नतिजा निकाल्ने अपेक्षा गरिएको छ ।

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली यतिबेला बन्द प्रशिक्षणमा छ । शनिबार औपचारिक रुपमा सुरु हुने एसियाड अन्तर्गत टि-ट्वेन्टी फरम्याटमा हुने पुरुष क्रिकेट भने १० गते बाट मात्र सुरु हुनेछ । १ वर्षदेखि एक दिवसीय क्रिकेट खेल्दै आएका नेपाली खेलाडीलाई कम समयमा छोटो फरम्याटको क्रिकेटमा फर्कनु पर्ने अवस्था छ । तर टोली त्यसका लागि तयार रहेको कप्तान रोहित पौडेल बताउँछन् ।

पछिल्लो पटक नेपालले गत वर्ष कार्तिकमा केन्यासँग ५ खेलको टि-ट्वेन्टी सिरिज खेलेको थियो । त्यसयता, आईसिसी विश्व क्रिकेट लिग टु, एसिसी प्रिमियर कप र एसिया कप जस्ता १ दिवसीय प्रतियोगितामात्र खेल्यो । अब भने खेलाडीलाई टि-ट्वेन्टीमा फर्किनु पर्नेछ । जसको फर्म्याट विल्कुल फरक हुन्छ । तर खेलाडी भने तयार देखिन्छन् ।

एसियाडमा नेपाल रहेको समुह ए मा मंगोलिया र मालिदभ्स छन् । पहिलो खेलमा नेपालले मंगोलियासँग खेल्नेछ । समुह चरण पार गर्न सके नेपालले आइसीसीका ४ एसियाली पूर्ण सदस्यसँग खेल्न पाउने छ । तर सुरुवाती रोजाईका खेलाडी विश्वकपको तयारीमा रहँदा ती टोलीले भने दोस्रो रोजाइका खेलाडीलाई चीन पठाउँदैछन् ।

ओडिआईको तुलनामा नेपाल ट्वेन्टी-ट्वेन्टी प्रतियोगितामा सफल
ओडिआई भन्दा ४ वर्ष अगाडि नै नेपालले टिट्वेन्टी अन्तर्राष्ट्रिय खेल्न थालेको हो । यद्यपी नेपालले ५९ ओडिआई खेल्दा ३० मा जीत र २७ मा हार व्यहोरेको छ । बाँकी २ मध्ये १ खेल नतिजाविहिन र १ बराबरी भएको थियो । यो वर्ष २२ ओडिआई खेल्दा नेपालले १५ जित र ७ खेल हारेको छ ।

२०१४ देखि टि–ट्वेन्टी आई खेल्न थालेको नेपालले अहिलेसम्म ५७ खेल खेल्दा ३३ जीत र २३ खेल हार्दा बाँकी १ खेल नतिजा विहिन बन्यो । दुई फरम्याटमध्ये नेपालले टि-ट्वेन्टीमा १ पटक विश्वकप खेल्दा ओडिआईमा नेपालको ठूलो सफलता भनेको हालै एसिया खेल्नु हो । अधिकांश घरेलु प्रतियोगितामा नेपाली खेलाडीले टि-ट्वेन्टीमै आफुलाई अभ्यस्त राखेका छन् ।

टी-ट्वेन्टीमा नेपालको वरीयता १७ औँ स्थानमा छ भने एसियाली देशको वरीयतामा नेपाल सातौँ स्थानमा छ । क्रिजमा धैर्यता देखाउन नसक्दा एक दिवसीयमा नेपाली खेलाडीको समस्या पूरै ओभर खेल्न नसक्नुनै देखिँदै आएको छ । पछिल्ला खेलहरूमा केही सुधारका संकेत भने देखिएका छन् । छोटो फरम्याटमा नेपाली खेलाडी तुलनात्मक रुपमा सफल देखिन्छन् । तर छोटो फरम्याटको क्रिकेटमा कुनैपनि टोलीलाई कमजोर आँक्न नमिल्ने खेलाडीको बुझाइ छ ।

एसियाडलाई नेपालले टि-ट्वेन्टी विश्वकपको एसिया छनोटअघिको अभ्यास खेलका रुपमा समेत हेरेको छ । यो प्रतियोगिता लगतै नेपालले घरेलु मैदानमा विश्वकपको एसिया छनोटमा ओमान, बहराइन, हङकङ, सिंगापुर र युएई तथा क्वालिफायर बीबाट आएको मलेसिया र ए को शीर्ष स्थानको टोलीसँग खेल्नेछ । कार्तिक १३ गतेदेखि हुने छनोटको शीर्ष २ टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टि-ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्