एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने
२९ भदौ २०८० काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि साविक विजेता श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
सुपर फोर अन्तर्गत गएराति पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै श्रीलंका फाइनलमा पुगेको हो । ४२ औं ओभरमा २५२ रनको लक्ष्य श्रीलंकाले डकवर्थ लेविसका आधारमा अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
वर्षाले खेल प्रभावित भएपछि श्रीलंकाले ४२ ओभरमा २५२ रनको नयाँ लक्ष्य पाएको थियो । उसका लागि कुशल मेण्डिसले ९१ रन जोडे ।
त्यस्तै चारिथ अशलंका ४९ रनमा अविजित रहँदा सधिरा समरविक्रमाले ४८ रन बनाए । बलिङमा पाकिस्तानका इफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले दुई विकेट लिए ।
यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेटको नोक्सानीमा २५२ रन बनाएको थियो । वर्षाका कारण पहिले ४५ ओभरको तय खेल फेरि पानी परेपछि खेल ४२ ओभरमा झारिएको थियो ।
पाकिस्तानका मोहम्मद रिजवानले नटआउट ८६ रन बनाउँदा अब्दुल्लाह शफीकले ५२ तथा इफ्तिखार अहमदले ४७ रन थपे । श्रीलंकाका मथिसा पाथिरानाले ३ र प्रमोद मधुसनले २ विकेट लिए ।
प्रतियोगिताको सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । भारत एक खेल अगावै फाइनलमा पुगिसकेको छ भने बंगलादेश बाहिरिसकेको छ ।
प्रतिक्रिया