खेलकूद

एन्फा विवाद : अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव, के हो चुरो कुरो ? (भिडियो रिपोर्टसहित)

२०८० भदौ २७ गते २०:१७
एन्फा विवाद : अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव, के हो चुरो कुरो ? (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० काठमाडौं । पदाधिकारीबीच विवाद र हातै हालाहालको स्थिति अखिल नेपाल फुटबल संघ एन्फाका लागि नौलो होइन । तर सोमबार नेपाली फुटबलमै पहिलो पटक एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव नै भयो । यसको पछिल्लो कारण भर्चुअल विशेष साधारण सभा देखिए पनि नेम्वाङ एन्फा कार्यसमितिमा आएसँगै विवादको विजारोपण भइसकेको थियो ।

पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले विशेष साधारण सभा भर्चुअल माध्यमबाट बोलायो । त्यसको विरोधमा पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत सहिद स्मारक लिग खेल्ने ४२ मध्ये ३२ क्लबले विधान विपरित भर्चुअल सभा गरे बहिष्कार गर्ने चेतावनी पहिले नै दिइसकेका थिए । तर नेतृत्वले त्यसलाई वास्ता नगरी आइतबार बोलाएको सभामा बहुमत सदस्य संख्या नपुगेपछि स्थगित भएको साधारण सभा सोमबारका लागि सारियो तर दुवै पक्ष आ आफ्नो अडानमा रहँदा त्यो पनि हुन सकेन । बरु असन्तुष्ट ४९ सदस्यले एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गर्दै विशेष साधारण सभाका लागि निवेदन दर्ता गराए । साधारण सभामा अडिटर नियुक्तिको एकमात्र एजेन्डामा रहेको कारण मितव्यीता अपनाएको एन्फा तर्क छ भने असन्तुष्ट पक्षको यसमा फरक मत छ ।

भर्चुअल साधारण सभा त पछिल्लो घटना क्रम मात्र हो, नेम्वाङ एन्फा कार्यसमितिमा आएसँगै विवादको विजारोपण भइसकेको थियो । २०७९ असार ६ गते भएको निर्वाचनबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै नेम्वाङको नेतृत्वमा एन्फा कार्यसमिति निर्वाचित भयो । तर शेर्पा प्यानलका ८ जना पनि सदस्यमा निर्वाचित भएपछि २१ सदस्यीय कार्यसमितिको एन्फा सुरुमै २ समुहमा विभाजन हुने पक्का जस्तै देखिएको थियो ।

यद्यपी निर्वाचनमा पूर्व अध्यक्ष गणेश थापाको साथ पाएका वर्तमान अध्यक्ष नेम्वाङ कार्यकालको प्रारम्भमा बलियो नै देखिन्थे । त्यसमा कुनै बेला शेर्पाकै विश्वास पात्रका रुपमा घरेलु फुटबलमा चर्चा कमाएका नवीन पाँडेको साथ पनि नेम्वाङलाई नै थियो ।

जब असार ८ गते बसेको कार्यसमितिको पहिलो बैठकमा एजेण्डाबिना नै महासचिव, कोषाध्यक्ष र विदेश विभाग प्रमुख नियुक्त गरियो त्यहाँबाट एन्फामा अन्य दरार प्रस्ट रुपमा देखिन थाल्यो । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले नवीन पाँडेलाई बर्खास्त गर्नुपर्ने र एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई सहायक महासचिव बनाउनुपर्ने अडान लिएसँगै पदाधिकारीबीच दुरी बढ्न थाल्यो ।

नेम्वाङ प्यानलबाटै विजयी भएका वरिष्ठ उपाध्यक्ष खड्का समुह, शेर्पा प्यानलबाट निर्वाचित उपाध्यक्ष दीर्घबहादुर केसी लगायतको समुह तर अध्यक्ष नेम्वाङ सहित उपाध्यक्ष दावा लामाको अर्को गरि तीन समुहमा एन्फा विभाजित भयो । निर्वाचनताका साथ दिएका पूर्व अध्यक्ष थापा पक्षले समेत साथ छोडे । नेम्वाङकै नजिक मानिएका अनिल मल्ल, भोजराज शाही, रविन चन्द, रमेश व्यन्जनकार अहिले शेर्पा निकट समुहमा मिलेका छन् । उनीहरुले एन्फा महासचिवको कार्य सम्पादनमा प्रश्न उठाउँदै कार्यकक्षमा तालाबन्दी समेत गरे । पटक पटक चेतावनीकाबीच एन्फा नेतृत्वले विधान विपरित काम जारी राख्दा आजको अवस्था आएको पूर्व अध्यक्ष शेर्पाको तर्क छ ।

कार्य समिति सदस्य नै चिढिएपछि स्पष्ट बहुमतसहित चुनाव जितेका नेम्वाङ १ वर्ष नपुग्दै कमजोर बने । अध्यक्ष र महासचिव बर्खास्तीको निवेदनमा एन्फा निर्वाचनमा मताधिकार रहेका ८६ सदस्य मध्ये ४९ सदस्यको हस्ताक्षर छ । एन्फा विधान अनुसार अध्यक्ष बर्खास्तीका लागि ५८ मत चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्