नेपाल ग्लोबल ट्वेन्टीट्वेन्टी क्वालिफायरमा पुग्न असफल
२२ भदौ २०८० काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ग्लोबल ट्वेन्टी–ट्वेन्टी क्वालिफायरमा पुग्न असफल भएको छ ।
आईसीसी ट्वेन्टी–ट्वेन्टी महिला विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग पराजित भएसँगै नेपाल ग्लोबल क्वालिफायरमा पुग्न नसकेको हो ।
आज बिहान भएको सेमिफाइनलमा कमजोर ब्याटिङ गरेको नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भयो । १०६ रनको मध्यम लक्ष्यसहित मैदान ओर्लेको नेपाल ३ बल अगावै ५९ रनमा अलआउट भयो ।
कविता कुँवर १७ रनमा अविजित रहिन् । त्यस्तै कविता जोशी र अप्सरी बेगमले समान १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
काजल श्रेष्ठ, कप्तान रुबिना क्षेत्री र बिन्दु रावलले खाता खोल्नै सकेनन् । यसअघि मलेसियाको बांगीस्थित यूकेएम ओभलमा टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा २ विकेटको नोक्सानीमा १०५ रन बनाएको थियो ।
थाइल्याण्डकी ननापाट ५९ रनमा अविजित रहँदा नाथकन चानथमले ३१ रन बनाइन् । नेपालकी कविता कुँवर र पुजा महतोले एकएक विकेट लिइन् ।
उता अर्को सेमिफाइनल युएईले हङकङलाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनायो । १४२ रनको लक्ष्य पछ्याएको हङकङ १६ दशमलव ५ ओभरमा ८४ रनमै अलआउट भयो ।
फाइनल प्रवेश गरेसँगै थाइल्याण्ड र युएई सन् २०२४ मा हुने ग्लोबल ट्वेन्टी–ट्वेन्टी क्वालिफायरमा पुगेका छन् ।
प्रतिक्रिया