महिला ट्वेन्टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालसँग कतार ९ विकेटले पराजित

१८ भदौ २०८० काठमाडौं । नेपाल मलेसियामा जारी आईसीसी महिला ट्वेन्टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० दशमलब ३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ७ ओभरमा ४७ रनको साझेदारी गरे ।
यसअघि युकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाइन् ।
नेपालका लागि इन्दु बर्माले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।
प्रतिक्रिया