खेलकूद

महिला विश्वकप छनोट एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी

हिमालय टिभी
२०८० भदौ १७ गते १३:३४
महिला विश्वकप छनोट एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी

१७ भदौ २०८० काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट महिला विश्वकपको एसिया क्षेत्र छनोटमा लगातार तीन जितसहित नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

समूह ए अन्तर्गत भुटानमाथि ३ विकेटको संघर्षपूर्ण जित निकालेको नेपालको सेमिफाइनल सम्भावना थप बलियो बनेको हो । ४० रनको झिनो लक्ष्य नेपालले १३ दशमलव २ ओभरमा ७ विकेटको नोक्सानीमा भेट्टायो ।

नेपालकी कप्तान रुबिना क्षेत्री १२ रनमा अविजित रहिन् । त्यस्तै कविता जोशीले ९, सिताराना मगरले ८ र पूजा महतोले ३ रन जोडिन् ।

नेपालकी ब्याटर कविता कुँवर, अस्मिता बज्राचार्य, इन्दु बर्मा, सम्झना कुमारी खतिवडा शुन्य रनमा आउट भए । बिन्दु रावल भने शुन्य रनमा अविजित रहिन् । भुटानकी अञ्जुली घल्लेले ३ तथा छिरिङ जाङमोले २ विकेट लिइन् । नेपालले ९ रनको अतिरिक्त पाएको थियो ।

यसअघि युकेएम एसडी क्रिकेट रंगशलामा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । भुटानकी कप्तान डेचेन वाङमुले सर्वाधिक २१ रन जोडिन् ।

त्यस्तै छिरिङ जाङमोले ३ तथा सोनाम छोतेनले ३ रन थपे । भुटानका पाँच खेलाडीले खाता पनि खोल्न सकेनन् । भुटानले ७ रन अतिरिक्त पाएको थियो । भुटानलाई कम रनमा रोक्न नेपालकी पूजा महतोले ३ विकेट लिइन् ।

त्यस्तै कविता कुँवर, रुबिना क्षेत्री र खुशी डंगोलले समान १ विकेट हात पारे । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले आफ्नो चौथो खेलमा भोलि कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए मा लगातार तीन खेलमा विजयी युएई पहिलो र नेपाल दोस्रो स्थानमा छन् । त्यसपछि एक(एक जितसहित मलेसिया तेस्रो, भुटान चौथो र बहराइन पाँचौ स्थानमा रहँदा अंकविहिन कतार पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्