नेपालले जित्यो महिला ट्वेन्टी–ट्वेन्टी आई सिरिजको उपाधि

९ भदौ २०८० काठमाडौं । नेपालले चारदेश सम्मिलित महिला ट्वेन्टी–ट्वेन्टी आई सिरिजको उपाधि जितेको छ ।
हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकियो । वर्षाका कारण बाँकी खेल हुन नसकेपछि नेपाल डिएल मेथडमा १३ रनले विजयी भयो ।
नेपालकी इन्दु बर्मा १९ बलमा २ चौकासहित १९ र सीता रानामगर १३ बलमा १ चौकासहित १३ रनसहित क्रिज थिए । नेपालले ओपनर काजोल श्रेष्ठलाई शून्य रनमै आउट भइन ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।
हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाइन । नेपालकी खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १–१ विकेट लिए ।
आजै भएको अर्को खेलमा घरेलु टोली मलेसियाले कुवेतलाई ३५ रनले हराउँदै तेस्रो स्थान हासिल गर्यो । चार देश सम्मिलित शृंखलामा नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । नेपाल, हङकङ र मलेसियाको समान चार अंक भएपनि रनरेटका आधारमा नेपाल पहिलो, हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे ।
समूह चरणमा नेपालले हङकङ र कुवेतलाई पराजित गर्दा मलेसियासँग हार व्यहोरेको थियो । उता हङकङले भने मलेसिया र कुवेतलाई हराउँदा नेपालसँग पराजित भएको थियो ।
प्रतिक्रिया