खेलकूद

महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट : मलेसियासँग पराजित भए पनि नेपाल फाइनल प्रवेश

हिमालय टिभी
२०८० भदौ ८ गते १५:३८
महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट : मलेसियासँग पराजित भए पनि नेपाल फाइनल प्रवेश

८ भदौ २०८० काठमाडौं । नेपाल चार देशसम्मिलित महिला ट्वेन्टी–ट्वेन्टी आई सिरिजमा घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भए पनि फाइनलमा पुगेको छ ।

नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्दा मलेसिया बाहिरिएको छ । आज भएको खेलमा जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य मलेसियाले १६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मलेसियाको जितमा ऐना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् । महिराह इजाती २१ रन बनाइन् । नेपालकी पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।

वर्षाको कारण खेल प्रभावित हुँदा दुई दुई ओभर खेल घटाइएको थियो । त्यसैले डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले ८५ रनको लक्ष्य दिएको थियो । नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २३ रनको बनाइन् । इन्दु बर्मा ३३ बलमा २० रन बनाउँदै आउट भइन् ।

मलेसियाकी ऐना हामिजाह हाशिम, नुर दानैआ सामाद र महिराह इजाती इस्माइलले समान २–२ विकेट लिए। नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो । फाइनल शनिबार हुनेछ ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपालले सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला ट्वेन्टी(ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला ट्वेन्टी(ट्वेन्टी विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्