खेलकूद

क्रिकेट संघमा चुनावी सरगर्मी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २ गते १६:१९
क्रिकेट संघमा चुनावी सरगर्मी (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० काठमाडौं । केन्द्रीय चुनावको तयारीमा रहेको नेपाल क्रिकेट संघ क्यानको पहिलो चरण अन्तर्गत जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

क्यानका ४५ वटै सदस्य जिल्लाले नयाँ कार्य समिति पाएसँगै अब दोस्रो चरणमा प्रदेश कार्य समितिको अधिवेश हुनेछ । यससँगै अब केन्द्रीय नेतृत्वका आकांक्षीहरुले समेत तयारी थालेका छन् ।

७७ जिल्लामध्ये क्यानको सदस्य सबै ४५ वटै जिल्लाको चुनाव सम्पन्न भइसक्दा अब दोस्रो चरणको निर्वाचनको तयारी सुरु भएको छ ।

जिल्ला क्रिकेट संघको निर्वाचन साउन मसान्तसम्म सम्पन्न गर्ने तालिका अनुसार बिहिबार जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशन सम्पन्न भएको हो । जहाँ बिक्रम विष्ट दोश्रो कार्यकालका लागि सर्वसम्मतिले निर्वाचित भए ।

अब दोस्रो चरणमा प्रदेश संघको अधिवेशन भदौ १० सम्म सम्पन्न गर्ने र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुनेछ । प्रदेश र जिल्ला संघको नयाँ कार्यसमितिबाट चुनिएका प्रतिनिधिले केन्द्रीय कार्यसमितिमा मतदान गर्नेछन् ।

यससँगै क्यानको केन्द्रीय कार्यसमितिमा आउन चाहने आकांक्षीहरुको तयारी सुरु भएको छ । आन्तरिक तयारी गरिरहे पनि नेतृत्वका आकांक्षी कसैले पनि औपचारिक घोषणा भने गरेका छैनन् । उनीहरु ७ वटै प्रदेश संघको अधिवेशनको नतिजा कुरिरहेका छन् ।

तर आन्तरिक तयारी र दौडधुपकै आधारमा अहिलेसम्म चतुरबहादुर चन्द पुनः एक कार्यकालका लागि अध्यक्षमा दोहोरिन चाहन्छन् । आफ्ना निकट समुहमा उनले यो प्रस्ताव राखिसकेका छन् भने संस्थापन पक्ष निकटकै वर्तमान कोषाध्यक्ष रोशन सिंहले पनि अध्यक्षमा दाबेदारी दिने चर्चा छ ।

संस्थापन पक्षको प्रतिपक्षीका रुपमा देखा परेका केन्द्रीय सदस्य ऋषिराम गौतम र पूर्वकप्तान पारस खड्कालाई पनि यस पटकको सम्भावित आकांक्षीका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्