दुई दशकको अविछिन्न क्रिकेट यात्राबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्लको विश्राम (भिडियो रिपोर्टसहित)
१९ साउन २०८० काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् । उमेर समूहदेखि सिनियर टोली गरी २ दशक राष्ट्रिय टोलीबाट खेलेका ज्ञानेन्द्र नेपाली क्रिकेटले पाएको सफल ब्याटर हुन् । नेपाललाई पहिलो पटक विश्वकप छनोट गराउनेदेखि एक दिवसीय मान्यता पाउनुमा उनको महत्वपूर्ण योगदान छ ।
ज्ञानेन्द्र मल्ल, नेपाली क्रिकेटका एक सफल र प्राविधिक रुपमा निपुण ब्याटर । जसले अहिलेसम्मको एक मात्र टि ट्वेन्टी विश्वकपमा नेपाललाई पुर्याउँदा र पहिलो पटक आईसिसीको एक दिवसीय मान्यता दिलाउँदा महत्वपूर्ण भूमिका खेले । २ दशक राष्ट्रिय झण्डा अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गरेका ज्ञानेन्द्रले शुक्रबार खेलाडी जीवनबाट सन्यासको घोषणा गरे ।
यु नाइन्टिन विश्वकपमा २००६ र २००८ मा खेलेका उनी सन् २००६ देखि सिनियर टोलीबाट खेल्दै आएका थिए । राष्ट्रि टोलीबाट ज्ञानेन्द्रले अन्तिम खेल गत जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले । पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका उनी गत महिना सम्पन्न एसिसी इमर्जिङ कपमा टोली बाहिर थिए । काठमाडौंको लगन टोलमा जानी(नजानी क्रिकेट खेल्न थालेका ज्ञानेन्द्रका लागि क्रिकेटसँगका हरेक पाइला स्मरणीय छन् ।
उनले नेपालका लागि ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडिआई खेलेको नेपालका लागि उनले ५१ रन बनाए । यसर्थ ओडिआईमा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली ब्याटर हुन् । ४५ टि ट्वेन्टी आईमा उनले १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका छन् ।
२०१९ मा मलेसियाविरुद्ध २० बलमै अर्धशतक बनाउँदै उनी टि ट्वेन्टी आईमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बने । नेपालले डिभिजन फाइभदेखि थ्री, २०१४ मा टि ट्वेन्टी विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा सफल खेलाडीका साथै टोलीको सफल नेतृत्व गरेका उनका लागि विश्वकप खेल्दाको क्षण यादगार रहिरहने छ ।
बामे सर्दै गरेको नेपाली क्रिकेटलाई विश्वकप, एक दिवसिय मान्यता र एसिया कपसम्म पुर्याउँदाका सारथी ज्ञानेन्द्रले खेलाडीबाट बिदा लिए पनि कुनै न कुनै रुपमा क्रिकेटमै जोडिरहन चाहन्छन् ।
प्रतिक्रिया