एनभिए भलिबलको महिलातर्फको उपाधिका लागि दुई विभागीय टोली भिड्ने
२९ असार २०८० काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लबमा महिलातर्फको उपाधिका लागि दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
लिग चरणमा महिलातर्फको अन्तिम खेलमा आज न्यु डायमण्ड स्पोर्ट्स एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिस शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । राखेप कभर्डहलमा भएको एक पक्षिय खेलमा पुलिसले २५–२०, २५–१४ र २५–१७ ले विजयी भयो ।
पूर्ण रुपमा फिट नहुँदा हिजो एपिएफविरुद्धको खेलमा कोर्ट बाहिर गएकी प्रतिभा मालीको अभाव न्यु डायमण्डलाई पर्यो । जितसँगै पुलिस ५ खेलमा १५ अंकका साथ शीर्ष स्थानमा रहँदा समान खेलबाट ८ अंकको न्यु डायमण्डले तेस्रो स्थानमा रहँदै प्रतियोगिता सक्कायो ।
११ अंक सहित दोस्रो स्थानमा रहँदै एपिएफ उपाधि नजिक पुग्दा आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै चौथो बन्यो । महिलातर्फ गण्डकी पाँचौं र एभरेष्ट भलिबल क्लब जित विहीन हुँदै बाहिरियो ।
पुरुषतर्फ पनि पुलिस क्लबले फाइनलमा स्थान बनायो । पुरुषतर्फ आज भएको दोस्रो खेलमा अर्को विभागीय टोली एपिएफलाई सोझो सेटमा हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेट २५–२२ ले जितेको पुलिसले त्यसपछिका सेटमा २५–१३ र २५–१५ को सहज जित निकाल्यो । जितसँगै पुलिसले ६ खेलमा १५ अंक जोडेको छ ।
हेल्प नेपाल १३ अंक सहित दोस्रो र आर्मी ११ अंक सहित तेस्रो स्थानमा छ । अहिले हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा भइरहेको छ । यो खेलमा विजयी भएको खण्डमा हेल्प नेपाल फाइनल पुग्ने छ ।
प्रतिक्रिया