खेलकूद

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पराजित

२०८० असार २९ गते १६:३२
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पराजित

२९ असार २०८० काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानको ए टिमसँग ४ विकेटले पराजित भएको छ ।

कोलम्बो क्रिकेट क्लब ग्राउण्डमा १ सय ८० रनको विजयी लक्ष्य पाकिस्तान ए ले ३२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो । मध्यम सुरुवात गरेको पाकिस्तान ए का लागि मुहम्मद ताहिरले सर्वाधिक ५१ रनको अर्धशतकीय पाली खेले ।

त्यस्तै ओमार बिन युसफले ३६ र कमरन घुलामले ३० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रनमात्र बनायो ।

पाकिस्तानको सिनियर टोलीबाट समेत खेल्दै आएका तीव्र गतिका बलरद्धय मोहम्मद वासिम र शाहबाज दाहानीको गति सामु नेपाली ब्याटर टिक्न सकेनन् । पावर प्लेमै ६ विकेट गुमाउँदा नेपालको खातामा ३९ रन मात्र थियो ।

सुरुवाती ब्याटरहरु सस्तैमा आउट हुँदा नवौं नम्बरमा ब्याटिङमा आएका अलराउण्डर सोमपाल कामीले सर्वाधिक ७५ रनको अर्धशतकीय पाली खेल्दै नेपालको साख जोगाए । १ सय १ बलमा ९ चौका र २ छक्का सहित उनले ७५ रन बनाउँदा तल्लोक्रमका प्रतिश जिसिले २६ रन जोडे । बलिङमा पाकिस्तानका शाहबाजले ५ र वासिमले ४ विकेट लिए ।

प्रतियोगितामा एसियाका ५ टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष ३ टोली नेपाल, यूएई र ओमान सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्