आर्थिक

चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

२०८० असार २६ गते ७:१५
चितवन मिल्क  तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

२६ असार २०८० भरतपुर । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुयाएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताउनुभयो । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन ।

चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताउनुभयो । उहाँका अनुसार अहिले उत्पादनले गोदाम भरिएको बताउनुभयो । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “दश दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौँ ।”

एक लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर मिल्कको रु चार सयदेखि पाँच पाँच सयको बीचमा मूल्य पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उहाँले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताउनुभयो । “जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो”, उहाँले भन्नुभयो ।

विसं २०७२ को भूकम्पपछि तीन वर्ष उद्योग बन्द भएको थियो । उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । “यहाँ प्रयोग भएको मेसिन जर्मन प्रविधिको हो । एउटा सामान बिग्रेपनि जर्मनबाट ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताउनुभयो । अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो । जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताउनुभयो । उहाँले किसानलाई चितवन मिल्क र अन्य प्रशोधन उद्योगका कारण मिल्क होलिडे गर्नुपर्ने अवस्था नआएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *