विदेशी विनिमय सञ्चिति १४ खर्ब बढी (भिडियो रिपोर्टसहित)

२५ असार २०८० काठमाडौं । मुलुकको बाह्य क्षेत्र थप मजबुत बन्दै गएको छ । विदेशी मुद्राको सञ्चिति र शोधनान्तरस्थितिमा सुधार आउँदा चालू खाता घाटा भने थप बढेको छ।
महंगी पनि गत महिनाको तुलनामा घटेको छ। यसले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारीमा रहेको राष्ट्र बैंकलाई खुकुलो नीति ल्याउन सहयोग पुर्याउने देखिन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९–०८० को एघार महिना जेठसम्म आइपुग्दा नेपालमा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्समा आयमा २२ प्रतिशत वृद्धि भएको छ।
यसको अर्थ हरेक महिना मुलुकमा औसतमा एक खर्ब रुपैयाँमाथि रेमिटेन्स आइरहेको छ। रेमिट्यान्स आयमा भएको वृद्धि र आयातमा आएको कमिको कारण शोधनान्तर स्थितिमा पनि सुधार आएको छ । शोधनान्तर २ खर्ब २८ अर्ब रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।
विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ । यसले ११ महिनाको बस्तु र ९ महिनाको बस्तु तथा सेवा आयात धान्छ ।
चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । गत बैशाखामा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा थियो । यस्तै जेठमा महंगीदर ६ दशमलव ८३ प्रतिशत छ ।
गत महिना महंगी ७ दशमव ४१ प्रतिशत थियो । आयात १४ खर्ब ८० अर्ब र निर्यात १ खर्ब ४३ अर्बको मात्र भएको छ । बाह्य क्षेत्रमा देखिएको स्थायित्वले लचिलो मौद्रिक नीति लिन राष्ट्र बैंकलाई ठाउँ दिएको छ। निजी क्षेत्रले खुकुलो मौद्रिक नीतिको माग गरिरहेका छन्।
प्रतिक्रिया