खेलकूद

विश्वकप छनोट प्लेअफः युएईले दियो नेपाललाई १८२ रनको लक्ष्य

हिमालय टिभी
२०८० असार १७ गते १६:३७
विश्वकप छनोट प्लेअफः युएईले दियो नेपाललाई १८२ रनको लक्ष्य

१७ असार २०८० काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफमा नेपालले चीरप्रतिद्धन्दी युएईलाई १८१ रनमा अलआउट गरेको छ ।

जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा अहिले नेपाल १८२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६।५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनायो।

यूएईका लागि कप्तान बृत्य अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए । शून्य रनमै पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । ९७ रनमा ४ विकेट गुमाएको अवस्थामा रोहन मुस्तफा र बासिल हमिदबीच पाँचौं विकेटका लागि ५८ रनको साझेदारी भएको थियो ।

यूएईले २६ रन बनाउँदा बाँकी ६ विकेट गुमायो । सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

सन्दीपले १० ओभरमा केवल २३ रनमात्र खर्चिए । उनले ३ मेडन राखेका थिए । करणले ८।५ ओभरमा ३६ रन खर्चिए । युएईविरुद्ध आज नेपाली टोलीमा ३ खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा प्लेइङ ११ मा रहेका आसिफ शेख, ललित राजवंशी र कुशल मल्ललाई बाहिर राख्दै ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी र अर्जुन साउदलाई मौका दिइएको छ ।

आईसिसी विश्व क्रिकेट लिग टु मा पपुवा न्युगिनीविरुद्ध खेलेपछि ज्ञानेन्द्र पहिलो पटक मैदानमा उत्रेका हुन् । समुह ए मा २ अंकसहित नेपाल चौंथो र खाता खोल्न नसकेको युएई समूह बी को पुछारमा रहँदै सुपरसिक्स पुग्न असफल भएका हुन् ।

यो खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्नेछ । अमेरिकालाई ६ विकेटले हराउँदै आयरल्याण्ड सातौं स्थानको प्रतिस्पर्धाका लागि छानिएको हो ।

सुपर सिक्सको खेलमा जिम्बावेले दिएको १६६ रनको लक्ष्य पछ्याउँदै श्रीलंका जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्