इलामका युवामा क्रिकेटमा बढ्दो आकर्षण, संरचना नबन्दा समस्या (भिडियो रिपोर्टसहित)
१० असार २०८० इलाम । इलाम जिल्लामा हुने कुनै पनि खेलका लागि न्यूनतम सुविधा भएका संरचना समेत छैनन् ।
इलामा विशेष गरेर फुटबल, क्रिकेट र मार्सल आर्टका खेल बढी मात्रामा हुँदै आएका छन् । तर आफ्नो कौशल देखाउने व्यवस्थित थलो नहुँदा खेलाडी खिन्न छन् ।
जिल्लाकै एकमात्र ठूलो खेलमैदानको रुपमा सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा फुटबल र क्रिकेटका प्रतियोगिता हुँदै आएको छ । तर, यो मैदानमा प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक पर्ने कुनै संरचना छैन ।
ग्रामीण भेगमा रहेका मैदानमा फाट्टफुट्ट फुलबल प्रतियोगिता हुने भए पनि क्रिकेटका प्रतियोगिता गराउन सम्भव छैन । पछिल्लो समय जिल्लाका युवामा क्रिकेट प्रतिको आकर्षण बढ्दो अवस्थामा छ । मैदानको अभावका कारण उनीहरुले क्रिकेट खेल्न पाएका छैनन् । व्यवस्थित मैदान बनाउन खेलाडीको माग छ ।
मैदान नहुँदा खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । स्तरिय प्रशिक्षक नहुँदा खेलकुद प्रति रुची राख्ने प्रतिभावान खेलाडी जिल्ला स्तरमा सिमित छन् । कतिपय खेलाडी त खेलकुद छोड्न बाध्य छन् ।
व्यवस्थित संरचनाको माग यसअघि पनि नभएको होइन । इलामबाट निर्वाचित भएर जनप्रतिनिधि सभामुखदेखि प्रधानमन्त्री समेत बने । तर, न प्रधानमन्त्री न सभामुख न कुनै तहका सरकारले इलाममा मैदान बनाउन चासो देखाए । यहाँ ब्यबस्थित कर्बड हल नहुँदा जिल्ला खेलकुद बिकास समितिको हलमा कराते, तेक्वान्दो र उसुका खेलाडीले समय मिलाएर प्रशिक्षण गर्नुपर्ने बाध्यता छ ।
एउटै हलमा मार्सलआर्टसका तीनवटा खेलको प्रशिक्षण हुँदा टेबल टेनिसले भने समय नै पाउँदैन । जसका कारण इलामबाट टेबलटेनिस विस्थापित हुने अवस्थामा छ । जिल्ला सदरमुकामसहित जिल्लाका १० वटै पालिकामा केही न केही प्रयोजनका लागि करोडौं लगानीमा भवनहरु बनेका छन् ।
इलाम नगरपालिकामा दुईवटा कभर्ड हल निर्माण भएका छन । त्यो कबर्ड हलमा ब्याडमिटन मात्र हुँदै आएको छ । जिल्लामा फूटबल, क्रिकेटको लागि मैदान अभाव, मार्सल आर्टको लागि कभर्ड हलको मात्र अभाव हैन, भलिबल र बास्केटबल खेलका लागि पनि जिल्लामै ब्यबस्थित कोर्टको समेत अभाव छ ।
प्रतिक्रिया