खेलकूद

नेपाली क्रिकेट : नेदरल्याण्ड्ससँगको खेल ‘निर्णायक’ (भिडियो रिपोर्टसहित)

२०८० असार ८ गते २१:१३
नेपाली क्रिकेट : नेदरल्याण्ड्ससँगको खेल ‘निर्णायक’ (भिडियो रिपोर्टसहित)

८ असार २०८० काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटअघि नै कौतुहलताको विषय थियो, नेपालले दुई पटक एक दिवसिय विश्वकप जितिसकेको वेस्टइण्डिजसँग कस्तो खेल्ला ? विश्वस्तरीय खेलाडी सम्मिलित वेस्टइण्डिजविरुद्धको नतिजा स्वभाविक हो ।

सुपर सिक्सको लक्ष्य लिएको नेपालले अब समूहको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्नेछ । जुन खेल नेपालका लागि निर्णायक बन्ने छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाल पूर्व विश्व विजेता वेस्टइण्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भयो । समान २–२ पटक टी(ट्वेन्टी र एक दिवसीय विश्वकप जितेको बलियो टोली वेस्टइण्डिजसँग नेपालको यो हार अपेक्षित नै हो ।

खेलअघि नतिजाभन्दा पनि सम्भवत वेस्टइण्डिज जस्तो स्तरीय टोलीविरुद्ध नेपालको प्रदर्शन कस्तो रहला भन्ने नै धेरैको चासो विषय हो । टस गुमाएर पहिले ब्याटिङ गरेको वेस्टइण्डिजविरुद्ध नेपालको प्रदर्शन तारिफयोग्य छ । खेलमा नेपाली खेलाडीले आफ्नो स्तरभन्दा माथिल्लो प्रदर्शन गरेको कुरामा सायदै विमति होला ।

१६ औं ओभरमा तेस्रो विकेट गुमाउँदा वेस्टइण्डिजलाई ५५ रनको स्थितिमा राख्दै नेपालले सुरुवाती समय खेलमा पकड बनायो । तर कप्तान शाई होप र निकोलस पुरनको साझेदारी तोड्न नसक्दा नेपालले आफ्नो ओडिआई इतिहासमै सर्वाधिक उच्च योगफल ३४० रनको चुनौती पायो । होप र पुरनको दोहोरो अर्धशतकीय साझेदारी तोड्न नसक्नु नै नेपालको हारको कारक बन्यो ।

यसो तर नेपाली बलरलाई मध्येक्रममा साझेदारी तोड्न कठिन भइरहेको छ । १७ औं र ३४ औं ओभरमा क्याच लिँदै पुरनलाई पेभेलियन फर्काउने मौका नेपालले गुमायो । फिल्डिङमा गरेको आफ्नै गल्ती नेपाललाई भारी पर्यो । ब्याटिङमा लगातार दोस्रो खेलमा नेपालको ओपनिङ जम्न सकेन । ठूलो योगफल पछ्याउनु पर्ने मानसिक दबाब यसको कारण मान्न सकिन्छ ।

सुरुवाती ब्याटर कम रनमा आउट हुँदा नेपालले साझेदारीनै गर्न सकेन् । मध्येक्रममा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले ६८ रनको साझेदारी गर्दै नेपालको पाली सम्हाल्ने कोशिस गरे । नियमित खेलिरहेको बलर भन्दा फरक स्तरका बलरको बाउन्स र सर्ट बलको सामना गर्न नेपाली ब्याटरलाई हम्मेहम्मे पर्यो । यसलाई नेपाली टोलीको कमजोरी मान्न सकिन्छ । यो खेलबाट नेपालले धेरै सिक्ने मौका पाएको छ ।

अब नेपालले समुहको अन्तिम खेलमा शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ । आईसिसीको विश्व वरियतामा नेपाल १४औं र नेदरल्याण्ड्स १७ औं स्थानमा छन् । ओडिआईमा यी दुईबीच २ पटकमात्र खेल भएको छ । ओडिआई मान्यता पाएपछि नेपालले खेलेको पहिलो खेल नेदरल्याण्ड्सविरुद्ध नै हो ।

जहाँ दुवैले १-१ खेल जितेका थिए । यस खेलमा ब्याटिङतर्फ नेपालका भीम सार्की, आसिफ शेख र कुशल भुर्तेलको प्रदर्शन हेर्न लायक हुनेछ भने नेदरल्याण्ड्सका स्कट एडवार्ड, विक्रमजीत सिंह र म्याक्स ओ डोड नेपालका लागि घातक बन्न सक्छन् । सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र गुल्शन झा नेपालका मुख्य बलरमा रुपमा आउँदा नेदरल्याण्ड्सका शारिज अहमद र बास डे लिडे माथि नेपालले ध्यान दिनुपर्ने देखिन्छ ।

छनोटको समुह ए मा नेपाल ३ खेलमध्ये १ जित र २ हार सहित २ अंकका साथ चौंथो स्थानमा छ । १ खेल कम खेलेको नेदरल्याण्ड्सको पनि २ अंक छ । नेपाल र नेदरल्याण्ड्स दुवैले अमेरिकालाई हराउँदा जिम्बावेसँग हार व्यहोरेका थिए ।

यो समूहबाट अमेरिका १ खेलअघि नै बाहिरीसक्दा अब सुपर सिक्समा जाने १ स्थानका लागि नेपाल र नेदरल्याण्ड्सबीच नै प्रतिस्पर्धा छ । शनिबार नेदरल्याण्ड्सविरुद्ध विजयी भएको खण्डमा नेपालको सम्भावना बलियो बन्ने छ । तर अन्तिम खेलमा नेदरल्याण्ड्स वेस्टइण्डिजसँग हार्नु पर्ने हुन्छ । तर विपरित नतिजा आएको खण्डमा भने नेट रनरेट निर्णायक बन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्