खेलकूद

साफ च्याम्पियनसिप फुटबल : कुवेतविरुद्ध नेपाललाई खराब इतिहास तोड्ने मौका (भिडियो रिपोर्टसहित)

२०८० असार ६ गते ७:३०
साफ च्याम्पियनसिप फुटबल :  कुवेतविरुद्ध नेपाललाई खराब इतिहास तोड्ने मौका (भिडियो रिपोर्टसहित)

६ असार २०८० काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आज भारतको बैङ्गलुरुमा शुरु हुँदैछ । साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्नेछ । आमन्त्रित टोली कुवेतविरुद्ध खेल्दा नेपाललाई खराब इतिहास तोड्ने मौका छ ।

भारतको बैङ्गलुरुस्थित श्री कान्तिराभा रंगशालामा बुधबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालको अहिलेसम्मको सफलता भनेको एक पटक उपविजेता बन्नु मात्र हो । गत संस्करण माल्दिभ्समा भारतसँग ३(० गोलले हारेको नेपाल साबिक उपविजेता हो ।

फिफा वरियता
मध्यपूर्वी राष्ट्र कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो । फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ । १० पटक अरेवियन गल्फ कप जितेको कुवेतले १ पटक विश्वकप र १० पटक एसियन कप समेत खेलिसकेको छ । यसले पनि कुवेत नेपालका लागि कठिन प्रतिद्धन्दी हो भन्ने देखाउँछ ।

हेड टु हेड
नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ । २०१९ मा भएको मैत्रीपूर्ण खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको नेपाल पछिल्लो पटक कुवेतसँग गत वर्ष एसिया कप छनोटको खेलमा भने ४(१ गोलले हारेको थियो । यि दुईबीच पहिलो पटक सन् १९८२ एसिया कप छनोटमा भेट भएको थियो ।

जहाँ नेपाल ३-१ गोलले हारेको थियो । त्यस समय वाईबी घलेले गोल गरेका थिए भने त्यसको ४० वर्षपछि गत वर्ष एसिया कप छनोटमै दर्शन गुरुङले कुवेतविरुद्ध गोल गरे । कुवेतविरुद्ध नेपालले अहिलेसम्म यहि २ गोल मात्र गर्दा ३४ गोल खाएको छ । यस्तोमा नेपाललाई पहिलो खेलमा दबाब सँगै कुवेतविरुद्ध ऐतिहासिक जित निकाल्ने मौका पनि हुनेछ ।

प्लेयर टु वाच
नेपाल

कुवेतविरुद्ध नेपालका लागि स्ट्राइकर अन्जन विष्ट हेर्न लायक खेलाडीका रुपमा रहनेछन् । राष्ट्रिय टोलीबाट ११ गोल गरेका उनी नेपालको सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्ने होडमा छन् । उनी समान १३ गोल गरेका हरि खड्का र निराजन रायमाझीभन्दा २ गोलले पछाडि छन् ।

त्यस्तै सहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा रहेका नेपाली खेलाडी दीपकराज सिंह ठकुरीको प्रदर्शन पनि धेरैको पर्खाइको विषय हो । यस बाहेक कप्तान किरण चेम्जोङलाई साफमा नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी बन्ने मौका पनि छ ।

कुवेत
स्ट्राइकर शाबिब अल खल्दी कुवेतका महत्वपूर्ण खेलाडी हुन् । कुवेतको पछिल्लो ५ खेलमा खल्दीले ६ गोल गरेका छन् । यस सिजन कुवेत प्रिमियर लिगमा १८ गोल गरेका उनी पछिल्लो समय उच्च लयमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्