खेलकूद

नेपाल जिम्बावेसँग पराजित

२०८० असार ३ गते २१:०८
नेपाल जिम्बावेसँग पराजित

३ असार २०८० काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो ।

नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा क्रेग इर्विनले सर्वाधिक १२१ रनको योगदान दिए । उनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहेका हुन् ।

त्यस्तै, सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १०२ रनमा अविजित रहे । यसैगरी, जोयलोर्ड गुम्बीले २५ रन बनाए भने वेस्ली माधिवेरीले ३२ रन बनाए ।

बलितर्फ नेपालका गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदानन दिए । उनी शतक पूरा गर्नबाट १ रनले चुके । जिम्बावेका वेलिङटन मसाकाट्जाले कुशललाई ९९ रनमा आउट गराए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्काको मद्दतमा ९९ रनको योगदान गरेका हुन् ।

त्यस्तै, पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको उत्कृष्ट साझेदारी गरे । कुशल र आशिफले ३१ दशमलव ५ ओभरमा १७१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । एकदिवसीय नेपालको खेलमा यो हालसम्मकै उच्च अङ्कको साझेदारी हो । यसअघि गत फेब्रुअरीमा भएको नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

आसिफले ६६ रन बनाए । उनले एक सय बल खेल्दै सात चौकाको मद्दतमा ६६ रन जोडेका हुन् । यसैगरी, कुशल मल्लले ४१ रन जोडे । ४२ बल खेलका उनले तीन छक्का र दुई चौकाको मद्दतमा ४१ रन बनाएका हुन् । आरिफ शेखले १० रन बनाउँदा गुल्सन झाले १३ तथा दीपेन्द्र सिंह ऐरीले ६ रन जोडे । त्यस्तै, करण केसी २ रनमा अविजित रहे ।

बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै, ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही असार ५ गते अमेरिकासँग खेल्नेछ ।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन् ।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्