ब्याजदर नघटे ऋण नलिने व्यवसायीको घोषणा, के गर्ला राष्ट्र बैंक ? (भिडियो रिपोर्टसहित)
२ असार २०८० काठमाडौं । उच्च ब्याजदर र आर्थिक शिथिलताका कारण बजारमा ऋणको माग नहुँदा बैंकिङ प्रणालीमा करिब ३ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ ।
बैंकमा दीर्घकालीन रुपमा लगानी गर्न सक्ने स्रोत मुद्धति निक्षेपको हिस्सा बढ्दै जादा पनि बैंकबाट कर्जा प्रबाह हुन सकेको छैन् । राष्ट्र बैंकले ब्याजदर नघटाएसम्म कर्जा लिएर व्यवसायमा लगानी गर्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुसँग कुल ५५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप छ, तर कर्जा लगानी ४८ खर्ब ५३ अर्ब रुपैयाँ मात्रै भएको छ। ९० प्रतिशत कायम गर्नुपर्ने कर्जा निक्षेप अनुपात अहिले ८४ दशमलव १९ प्रतिशत छ । अर्थात अहिले बैंकहरुसँग करिब ३ खर्ब रुपैयाँ जति लगानीयोग्य रकम थुप्रिएको छ ।
गत असारमा बैंकहरुको निक्षेप ५० खर्ब ८२ अर्ब रुपैयाँ र कर्जा ४६ खर्ब २१ अर्ब रुपैयाँ थियो । यो बीचमा ४ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ऋण लगानी भने १ खर्ब ६८ अर्ब रुपैयाँ मात्रै बढेको छ। उच्च ब्याजदर र आर्थिक शिथिलताका कारण बजारमा ऋणको माग छ ।
बैंकहरुले कर्जाको ब्याजदर घटाएको बताए पनि अझै पनि १५, १६ प्रतिशतसम्म रहेकाले त्यो घटेर एकल विन्दु नजिक नआउँदासम्म कर्जा लिएर लगानी गर्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन् ।
नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा रहेकाले मौद्रिक नीतिले ब्याजदरलाई घटाउन सघाउ पुर्याउनुपर्ने माग व्यवासायीको छ । अन्यथा व्यवसाय विस्थापित हुने दुखेसो छ ।
पछिल्लो समय बैंकहरुमा दीर्घकालीन लगानीको माध्यम मुद्धती निक्षेपको हिस्सा बढ्दै गएको छ। गत बैंशाखसम्म कुल निक्षेपमा मुद्धती निक्षेपको अंश ५६ प्रतिशत रहेकोमा अहिले त्यो बढेर ६१ प्रतिशत पुगेको छ । मुद्धती निक्षेप बढ्दा पनि कर्जाको माग नहुँदा चालू आर्थिक वर्षमा बैंकहरुको नाफामा समेत विगतको तुलनामा कम हुने देखिन्छ ।
प्रतिक्रिया