आर्थिक

अर्थमन्त्रीले आफ्नो जिल्ला र पार्टीका शीर्ष नेताहरुको जिल्लामा खन्याए बजेट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १७ गते २१:००
अर्थमन्त्रीले आफ्नो जिल्ला र पार्टीका शीर्ष नेताहरुको जिल्लामा खन्याए बजेट (भिडियो रिपोर्टसहित)

१७ जेठ २०८० काठमाडौं । सत्ता र शक्तिमा रहेकाहरुले आफ्नो जिल्लामा धेरै बजेट र योजना पार्ने कुरा नौलो होइन ।

यो पटक पनि अर्थमन्त्री प्रकाशरण महतले त्यही प्रवृती देखाएको आरोप लागेको छ। तर मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरु भन्दा पनि आफ्ना पार्टी सभापतिलाई खुसी पर्न बढी जोड दिएको भन्दै गठबन्धन भित्रैका नेताहरुले उहाँको आलोचना सुरु गरेका छन् ।

सरकारले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधामन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्नका लागि बजेट बिनियोजन गर्यो । अर्थमन्त्री डा. प्रकाशरण महतको गृहजिल्ला नुवाकोट जोडिएका विभिन्न योजनालाई प्राथमिकता राखेर करिब ७ अर्ब रुपैयाँ बजेट बिनियोजन गर्नुभयो ।

डडेल्धुराका विभिन्न स्थानीय तहमा २ अर्ब २७ करोड रुपैयाँ, नुवाकोटमा ३ अर्ब ९८ करोड रुपैयाँ र प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र गोरखाका स्थानीय तहका लागि ४ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री प्रकाशरण महतले आफ्ना पार्टी सभापति शेरबहादुर देउवालाई खुसी पार्न डडेल्धुराका दर्जनौँ योजनामा बजेट हालेको आरोप छ । त्यस्तै कांग्रेस उपसभापति एवम् सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पनि मेडिकल कलेजका लागि बजेट छुट्याइएको छ । त्यति मात्र होइन आफ्नो हात जगन्नाथ शैलीमा नुवाकोटमा पनि बजेटको ओइरो लगाउनुभएको आरोप छ ।

उसो त प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुका गृहजिल्लामा हरेक बजेट ओइर्याउने र अन्यत्र बजेट छर्नेमात्र काम गरेको भन्दै आलोचना हुने गरेको थियो । यो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अन्य शीर्ष नेता र गठबन्धनका नेताहरुको निर्वाचन क्षेत्रमा भने माग गरे अनुसारको पनि बजेट नपरेको भन्दै अर्थमन्त्री महतको आलोचना सुरु भइसकेको छ। तर माओवादी सांसदहरु रातो किताबको भाग दुई अध्ययन गरेपछि मात्र यसबाट प्रतिक्रिया दिने बताउँछन् ।

तर अर्थमन्त्री प्रकाशरण महत यो स्वीकर गर्न तयार हुनुहुन्न् । विकासको माग र आवश्यकता अनुसार नै बजेट विनियोजन गरेको र स्रोतको चापले सबै क्षेत्रमा माग गरे अनुसारको बजेट दिन नसकेको बताउँछन् ।

प्रदेशगत आधारमा कुन प्रदेशमा कति बजेट ?
कोशी प्रदेशमा १६ अर्ब ११ करोड
मधेश प्रदेशमा १३ अर्ब ४५ करोड
बागमती प्रदेशमा १५ अर्ब ८१ करोड
गण्डकी प्रदेशमा १३ अर्ब ६० करोड
लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड
कर्णाली प्रदेशमा १६ अर्ब २७ करोड
र, सुदूरपश्चिम प्रदेशमा १४ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *