आर्थिक वृद्धिदर २ प्रतिशतमा खुम्चियो, १५ प्रतिशत नेपाली गरिबीको रेखामुनी (भिडियो रिपोर्टसहित)

१४ जेठ २०८० काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ । फलस्वरुप चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ। कस्तो छ नेपालको अन्य आर्थिक अवस्था यो हेरौं ।
कोभिड–१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिकरूपमा सुधारोन्मूख हुँदै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ। अधिकांश देशमा सार्वजनिक ऋण उच्च भएका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि थप वित्तीय स्रोत परिचालन गर्ने वित्त नीतिको दायरा सीमित हुन पुगेको छ।
रुस–युक्रेन युद्धका कारण वस्तुको मूल्यमा तीब्र वृद्धि भई विश्व मुद्रास्फीतिमा परेको दबाब केही समयदेखि कम हुँदै गए पनि भू–राजनीतिक तनाव भने जारी नै छ। नेपालमा चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ। त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ।
चालू आर्थिक वर्षको फागुनसम्म १८३ उद्योग दर्ता भई १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी भएको छ भने १२ हजार ७ सय ४८ ले रोजगारी पाएका छन् ।
सामाजिक सुरक्षा कोषमा १७ हजार ७ सय ४८ रोजगारदाता र ३ लाख ९८ हजार ५ सय ८७ श्रमिक आवद्ध भएका छन् ।
९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ भने विद्युतको जडित क्षमता २६ सय ६६ मेगावाट पुगेको छ । अर्थात् अझै ५ प्रतिशत नागरिक विद्युतको पहूँच बाहिर छन् ।
फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्रावेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक गरि हालसम्म राष्ट्रियस्तरका सडकको लम्बाई ३४ हजार १ सय किलोमिटर पुगेको छ। चालू आर्थिक वर्षमा मात्रै १०४ किलोमिटर नयाँ सडक र ७५ वटा पुल निर्माण सम्पन्न भएको छ।
स्वास्थ्य बीमाको पहुँच ७७ वटै जिल्लामा पुगेको छ ।
आधारभुत खानेपानीको पहुँच ९४ दशमलव ९३ प्रतिशतमा पुगेको छ भने उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच २५ दशमलव ८१ प्रतिशतमा रहेको छ।
सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा रहेका छन् । संस्थानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । जसमध्ये सरकारले यो वर्ष करिब १ प्रतिशत अर्थात ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ।
नेपालमा अझै १५ दशमलव १ प्रतिशत नागरिक गरिबीको रेखामुनी रहेको र १७ प्रतिशत बहुआयामिक गरिबीको रेखामुनि रहेको आर्थिक सर्वेक्षणको तथ्यांक छ । यस्तै स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५३ लाख ४१ हजार १ सय ७८ पुगेको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ७ हजार ७१० र अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २० हजार २९२ पुगेको छ। ई–पासपोर्ट लिनेको संख्या १३ लाख १४ हजार ६३० पुगेको छ ।
प्रतिक्रिया