आर्थिक

पोखरामा कृषि एम्बुलेन्स सञ्चालनमा (भिडियो रिपोर्टसहित)

२०८० जेठ १४ गते १८:२५
पोखरामा कृषि एम्बुलेन्स सञ्चालनमा (भिडियो रिपोर्टसहित)

१४ जेठ २०८० कास्की । कृषि उत्पादनमा बिचौलियाका कारण कृषक मारमा छन् । उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् ।

साना किसानको उत्पादनले बजार नपाउने समस्या भइरहँदा पोखरामा भने कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । चिस्यानसहितको एम्बुलेन्सले साना किसानको उत्पादनलाई बजारीकरण गर्ने र कृषि पेशामा टिकाइ राख्न मद्धत पुग्ने अपेक्षा राखिएको छ ।

कृषि एम्बुलेन्स आउने सूचना पाएपछि पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी ठुलढुङ्गाका किसान बिहानै आफ्नो बारीमा भएको तरकारी टिपेर हतारहतार संकलन केन्द्रमा पुगेका छन् ।

उत्पादन भएको सिजनको तरकारी संकलन केन्द्रमा जम्मा गरिरहेका छन् । कृषि एम्बुलेन्स गाउँमै आउन थालेपछि उनीहरूलाई सहज भएको छ । जसको घरमा जे छ, जति छ बेच्नको लागि कुनै बाधा छैन । व्यापारीले दिने भन्दा उनीहरूले बढी मूल्य पाएका छन् । बेच्नका लागि बजारसम्म जाने खर्च र समय समेत बचत भएको किसान बताउँछन् ।

साना किसानको उत्पादनलाई प्रोत्साहन गर्ने गरी अहिले एम्बुलेन्स सञ्चालन गरिएको छ । पोखरा–२८, ३३ र २२ नम्बर वडाबाट दुई दिन विराएर एम्बुलेन्सले तरकारी विक्री केन्द्रमा पुर्‍याउँछ ।

वडा कार्यालय, सहकारी र कृषि समूहले कृषकको उत्पादनलाई संकलन गरेर एम्बुलेन्समा बजारसम्म पठाउनका लागि सहजिकरण गरीरहेका छन् । प्रतिष्पर्धी बजारलाई ध्यान दिँदै अर्गानिक र गुणस्तरीय कृषि उत्पादनमा प्रशिक्षण र कृषकलाई अभिमुखिकरण समेत गरिएको छ ।

महानगरपालिकाले उक्त एम्बुलेन्समा इन्धन, चालक र अन्य जनशक्तिको व्यवस्थापन गरेको छ । ढुवानी शुल्क समेत महनगरले व्यहोर्ने भएकाले कृषकले अन्य थोक बजारले दिने भन्दा बढी मूल्य प्राप्त गर्नेछन् । एम्बुलेन्सबाट आएको कृषि उत्पादनलाई विक्रीका लागि वडानम्बर १७ विरौटामा विक्री स्थल स्थापना गरिएको छ । छिटो कुहिने वस्तुलाई चिस्यान केन्द्रको पनि बजरमा व्यवस्था गरिएको छ ।

कृषि एम्बुलेन्स ३६ लाख रूपैयाँ लागतमा महानगरले गएको वैशाख १ गते देखि सञ्चालनमा ल्याएको हो । एम्बुलेन्समा माइनस १५ डिग्रीसम्मको चिस्यान कायम गर्न सकिन्छ । अहिले तरकारीको ओसारपसरमा प्रयोग भएको एम्बुलेन्स किसानको माग अनुसार फलफूल, तरकारी, मासुजन्य पदार्थ लगायतका कृषिजन्य बस्तुको ओसारपसार गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *