खेलकूद

एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपकाे तयारी पूरा (भिडियो रिपोर्टसहित)

२०८० जेठ २ गते ७:१३
एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपकाे तयारी पूरा (भिडियो रिपोर्टसहित)

२ जेठ २०८० काठमाडौं । अन्तर्राष्ट्रिय भलिबलमा नेपाललाई सफलता दिलाउन सफल टोली हो महिला भलिबल टोली । सन् २०१९ देखि शुरु भएको एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको दुवै संस्करणको विजेता नेपाली महिला भलिबल टोली नै हो ।

यस पटक घरेलु भुमिमा हुन लागेको तेस्रो संस्करणको उपाधिमा पनि नेपालले दाबेदारी प्रस्तुत गर्दैछ । अर्को महिना हुने प्रतियोगिताका लागि टोलीले तयारी गरिरहँदा नेपाल भलिबल संघले पनि आयोजनाको सबै तयारी पूरा गरेको छ ।

२०७४ सालमा राष्ट्रिय खेल घोषणा भएसँगै नेपालमा भलिबलको गतिविधि पनि बढेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीताका साथै वर्षभरी नै घरेलु प्रतियोगिताहरु संचालन भइरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा पुरुषको तुलनामा भने महिला टोलीले छोटो समयमा ठूला सफलता पाइरहेको छ ।

दक्षिण एसियाली खेलकुद सागमा अहिलेसम्म स्वर्ण जित्न नसके पनि सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपमा भने नेपालले २ पटक उपाधि जितिसकेको छ ।

सन् २०१९ मा भएको पहिलो संस्करणको उपाधि जितेको नेपालले २०२१ मा बंगलादेशमा भएको दोस्रो संस्करणमा उज्बेकिस्तानलाई ३,२ को सेटमा हराउँदै उपाधि रक्षा गर्यो । लगातार २ संस्करणको उपाधि जितेको नेपाल यसपटक घरेलु मैदानमा उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । यसका लागि टोलीले ३ महिनादेखि तयारी गरिरहेको छ ।

अहिलेसम्मको दुवै संस्करणको उपाधि जितेको नेपालले यस पटक आफै सेन्ट्र एसियन भलिबल एसोसियसन काभा महिला भलिबल च्यालेन्ज कपको आयोजना गर्दैछ । यसका लागि नेपाल भलिबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी समेत पुरा गरेको छ । ४ वर्ष अघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको संघले यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रतिष्ठासँग जोडेर समेत हेरिरहेको छ ।

प्रतियोगिता जेठ ८ गतेदेखी १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ । सहभागी ८ राष्ट्रलाई २ समुहमा विभाजन गरिएको छ । समुह ए मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् ।

त्यस्तै समुह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । आयोजक नेपालले उद्घाटन खेलमा कीर्गिस्तानसँग खेल्नेछ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक जान डे ब्रान्टले १४ सदस्यीय नेपाल टोली घोषणा गर्दै विपक्षी टोलीको खेल समेत विश्लेषण गरिरहेका छन् ।

यस पटक चोटका कारण भरपर्दा स्पाइकर प्रतिभा माली टोलीमा नपर्दा सेटर कृपा अधिकारी टोलीमा अटाइनन् । केहि दिन अघि सर्वाजनिक गरिएको टोलीमा ६ जना खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपमा नेपालले आफ्नो दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्