आर्थिक

बन्दको बाटोमा हेटौंडा औद्योगिक क्षेत्र (भिडियो रिपोर्टसहित)

२०८० जेठ १ गते २१:०५
बन्दको बाटोमा हेटौंडा औद्योगिक क्षेत्र (भिडियो रिपोर्टसहित)

१ जेठ २०८० हेटौंडा । मुलुकको अर्थतन्त्र धान्नेदेखि आर्थिक वृद्धिदरमा भूमिका खेल्दै आएका उद्योगहरू नै धराशायी बन्न थालेका छन् ।

आर्थिक मन्दीका कारण औद्योगिक प्रतिष्ठानहरूमा ठूलो प्रभाव परेको छ । जसको ज्वलन्त उदाहरण हो, हेटौंडा औद्योगिक क्षेत्रका उद्योग । साउनयतामात्र हेटौंडा औद्योगिक क्षेत्रका आठवटा उद्योग बन्द भएका छन् भने चलिरहेका उद्योगले पनि आफ्नो उत्पादन कटौती गरिरहेका छन् ।

हेटौँडा औद्योगिक क्षेत्रका ९० भन्दा बढी उद्योगहरू धरासायी अवस्थामा पुगेका छन् । कोरोना महामारीदेखि नै समस्यामा पर्दै आएका उद्योगहरु आर्थिक मन्दीका कारण थिलिएका छन् । आर्थिक वृद्धिदर घट्नु र अत्याधीक महँगीका कारण हेटौंडाका उद्योगहरुले आफ्नो क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् भने कतिपय त बन्द भएका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रका १४५ उद्योगमध्ये एक सय ३२ उद्योग निजी लगानीमा संचालित छन् । जसमध्ये साउनयतामात्र आठवटा उद्योग बन्द भएका छन् । दुई वर्षयता अरु १२ उद्योग पनि बन्द भए । केहीले हाल उत्पादन बन्द गरेर बसेका छन् । पूर्ण रूपमा बन्द उद्योग र निर्माणाधीन अवस्थाबाहेक हेटौँडा औद्योगिक क्षेत्रमा हाल ८० देखि ८५ वटा उद्योग मात्र सञ्चालनमा छन् ।

एसियन पेन्ट्स र बर्जर पेन्ट्रस जस्ता ठूला बहुराष्ट्रिय कम्पनीले समेत उत्पादन घटाएका छन् । यस्तै दाना उत्पादन गर्दै आएको देशकै ठूलोमध्येका सिद्धार्थ र भ्याली पेलेट उद्योग पनि आफ्नो क्षमताको ४० प्रतिशत उद्पादनमा सिमित छन् ।

वनस्पति घ्यु उद्योग, हिमालयन पोलिमर्स, बाबा म्यानुफ्याक्चरिङ प्रालि, सन्नी डिस्टिलरी, नेमोपार्केट कम्पनी, ग्यासिका टेक्सटाइल, लक्ष्मी पेन्टस् उद्योग, क्वालिटी ह्याचरी एन्ड फिड इण्डष्ट्रिज, मदर ल्याण्ड एग्रिकल्चर, नेपाल ब्रुबरीलगायतका उद्योगहरू बन्द भएका छन् । एक वर्षमै बैंकको ब्याजदर आकाशिनु र सरकारले व्यावसायी मैत्री नीति नबनाउँदा यो अवस्था आएको उद्योगीको आरोप छ ।

बर्सेनि करोडौँको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरू यसअघि नै बन्द भइसकेका छन् । यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसियन लेदर आर्ट्स एन्ड टानिङ जस्ता उद्योगहरू पनि केही वर्ष अघिदेखि अस्तित्वमा छैनन् ।

एक दशकअघि मकवानपुरका २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा ठूलो परिमाणमा उत्पादन निर्यात गरेको तथ्यांक छ । त्यसबेलाको तुलनामा अहिले निर्यात व्यापार ८५ प्रतिशतले घटेको छ । अहिले पाँचवटा उद्योगले मात्र जेनतेन आफ्नो उद्पादन निर्यात गर्दै आएका छन् । आर्थिक सम्बृद्धिको नारा लगाउने सरकारले उद्योगी मैत्री वातावरण बनाएर कलकारखानालाई प्रोत्साहन गर्नुपर्ने आवाज उद्योगीबाट उठिरहेको छ । सरकारले तत्काल ठोस कदम नचाले पलायन हुनुपर्ने अवस्था आउने उनीहरुको चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *