आर्थिक

दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै

२०८० वैशाख ३१ गते ८:१४
दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै

३१ वैशाख २०८० चितवन । पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो ।

देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको हो । कम्पनीका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार साधारणसभाबाट पब्लिकमा जाने गरी निर्णय गरेर प्रक्रिया अघि बढाइएको छ । कम्पनीको पोल्ट्री फार्म विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ सर्दी नवलपुरमा रहेको छ ।

सो कम्पनी र भगिनी कम्पनी गरी सो क्षेत्रमा ३३ बिघा जमिनमा फार्म रहेको छ । कार्यकारी निर्देशक पोखरेलका अनुसार फार्ममा चार लाख लेयर्स कुखुरा छन् । फार्ममा रु एक अर्ब ५० करोड लगानी भइसकेको छ । फार्म विस्तारका क्रममा रहेकाले रु दुई अर्बभन्दा बढी लगानी पुग्नेछ । कम्पनीमा हाल ४० जना सेयर सदस्य छन् । कुखुराका लागि आवश्यक पर्ने चल्ला हुर्काउने खोर, अण्डा भण्डारण केन्द्र, दाना भण्डारण केन्द्र, कर्मचारी आवासलगायतका संरचना रहेका छन् । सँगै क्रेट उद्योग र मल उद्योग पनि रहेका छन् ।

उहाँका अनुसार त्यहाँ दैनिक एक हजार छ सय पेटी अण्डा उत्पादन हुँदै आइरहेको छ । एकान्त र सुरक्षित ठाउँमा कम्पनी अवस्थित रहेको हुनाले अण्डाको उत्पादन र उत्पादकत्व दुवै उच्च छ । अत्याधुनिक स्वचालित प्रणालीमा अण्डाको ग्रेडिङ गरी उपभोक्तालाई सहुलियत मूल्यमा यस कम्पनीले अण्डा बिक्री गरिरहेको छ ।

कम्पनीका उपकार्यकारी निर्देशक विपिन पोखरेलले कम्पनीले भगिनी संस्था किसान दाना उद्योगले बजारीकरण गरिरहेको डिपोहरूमार्फत अण्डा बिक्री गरिरहेको बताउनुभयो । हालसम्म देशका विभिन्न सहरमा १५ वटा डिपो र अन्य डिलरमार्फत अण्डा बिक्री हुँदै आइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कम लागतमा अण्डा उत्पादन गरेर सस्तो र सर्वसुलभरूपमा उपभोक्तासमक्ष पु¥याउने हाम्रो लक्ष्य छ ।”

कम्पनीका अध्यक्ष रघुनाथ भट्टले पोल्ट्री फार्म पब्लिकमा जान लागेको नेपालमै पहिलो भएको बताउनुभयो । आम नागरिकलाई सेयरधनी बनाएर देशका अन्य ठाउँमा समेत अत्याधुनिक फार्म निर्माण गरी कम लागतमा धेरै अण्डा उत्पादन गर्ने र सर्वसुलभरूपमा उपभोक्तासम्म पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । विशेष साधारणसभाले निर्णय गरेसँगै पब्लिकमा जाने प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *