खेलकूद

रग्बीमा नेपालको सफलता (भिडियो रिपोर्टसहित)

२०८० वैशाख २९ गते २०:४३
रग्बीमा नेपालको सफलता (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०८० काठमाडौं । नेपाल रग्बी संघले यसै साता विश्व रग्बीको पूर्ण सदस्यता पायो । पछिल्लो एक दशकमा नेपालमा रग्बीको गतिविधिलाई आधार मानेर विश्व रग्बीले नेपाललाई यो मान्यता दिएको हो ।

नेपाली खेलकुदमा रग्बीले पाएको यो मान्यता आफैमा ठूलो उपलब्धी हो । यससँगै नेपाली खेल क्षेत्रमा भ्रूण अवस्थामा रहेको रग्बी अब भने विकास हुने अपेक्षा गरिएको छ ।

लण्डनमा सन् १८२३ ताका सुरु भएको मानिन्छ रग्बी खेल । तर नेपालमा भने २०४८ सालदेखि औपचारिक रुपमा रग्बी खेल्न थालिएको इतिहास छ । २०५२ सालमा रग्बी संघ गठन भयो । विश्वमा शताब्दी पुरानो इतिहास बोके पनि ६० को दशकसम्म नेपालमा रग्बीको गतिविधि शुन्य जस्तै रह्यो ।

२०६८ सालमा टंकलाल घिसिङको अध्यक्षता रग्बी संघको पुनर्गठन भएपछि मात्र यसले गति लिन थालेको हो । पछिल्लो ११ वर्षमा नेपाल रग्बी संघले धेरै सक्रियाता देखाएको छ । यसैको आधारमा रग्बीको अन्तर्राष्ट्रिय संगठन विश्व रग्बीले नेपाललाई आफ्नो पूर्ण सदस्यको मान्यता दिएको हो । नेपालमा रग्बीको गतिविधि र विकासका लागि यो मान्यतालाई महत्वका साथ हेरिएको छ ।

सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पायो । त्यस समयदेखी गेट इन्टु रग्बी कार्यक्रम देशैभर संचालन र घरेलु प्रतियोगिता पनि हुन थालेपछि नेपालले २०२० मा विश्व रग्बीको एसोसिएट सदस्यको मान्यता पाएको थियो ।

पुनर्गठन पछिको ११ वर्षमा नेपालले घरेलुसंगै अन्तर्राष्ट्रिय सहभागिता समेत जनाएको छ । तर आफ्नो छुट्टै खेल मैदान र पूर्वाधारको अभावमा यसले सोचे अनुरुप गति लिन सकेको छैन । हालैमात्र कागेश्वरी मनोहरा नगरपालिकाले रग्बीका लागि १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने सम्झौता गरेपछि अब भने नियमित प्रशिक्षण र प्रतियोगिताका लागि समस्या नहुने विश्वास गरिएको छ ।

विश्व रग्बीको मुख्य प्रतियोगिता १५ जना खेलाडी खेल्ने रग्बी फिफ्टिन हो भने नेपालमा विगतमा भने ७ खेलाडी खेल्ने रग्बी सेभेन खेलिँदै आएको छ । बृहत राष्ट्रिय खेलकुदको नवौं संस्करणमा रग्बीले डेब्यु गर्दा नेपालले १८ वर्ष मुनिको एसिया रग्बी सेभेन्स च्याम्पियनसिपको पुरुष र महिलातर्फको प्रतियोगिता समेत आयोजना गरिसकेको छ ।

रग्बीमा नेपालमा आयोजना गरेको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यस्तै गत वर्ष बंगलादेशमा भएको अन्तर्राष्ट्रिय रग्बी सिरिजमा नेपालले रग्बी फिप्टिन्स खेलेको थियो । यस बाहेक नियमित घरेलु प्रतियोगिता पनि भइरहेका छन् । संघले अब विश्व रग्बीमै नेपाललाई बलियो टोलीका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । तर यो खेलका विषयमा अझै पनि दर्शकलाई बुझाउन नसक्दा यसले गति लिन सकिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्