खेलकूद

घरेलु फुटबलको महारथी क्लब थ्रीस्टार : जोगाउला विरासत ? (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १६ गते १४:२३
घरेलु फुटबलको महारथी क्लब थ्रीस्टार : जोगाउला विरासत ? (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० काठमाडौ । घरेलु फुटबलको महारथी क्लब हो थ्रीस्टार । सहिद स्मारक ए डिभिजन लिगमा यो क्लबलाई सधैं उपाधि दाबेदार मानिन्छ  । तर लिगको ४० औं संस्करणको उपाधि जितेयता १० वर्षसम्म पनि क्लबले उपाधि जित्न सकेको छैन ।

यस पटक विरासत फर्काउने प्रयासमा रहेको थ्रीस्टार लिगमा आफ्नो १३ औं खेलपछि २२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

सहिद स्मारक ए डिभिजन लिगको इतिहासलाई प्रजातन्त्र पुनःस्थापना अघि र पछि गरी २ खण्डमा विभाजन गरेर हेरिन्छ । २०४६ सालको जनआन्दोलन पछिको समयलाई नेपाली फुटबलको आधुनिक युग मानिन्छ । यही कालमा नेपाली फुटबलमा दमदार उपस्थिति जनाएको क्लब हो थ्रीस्टार । तर यो क्लब पछिल्लो पटक २०६९ सालको लिग जिजेयता भने ए डिभिजन च्याम्पियन बन्न सकेको छैन ।

यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०६८ सालदेखि शुरु गरेको नेशनल लिगको दोस्रो संस्करण थ्रीस्टारले जितेको थियो । २०७२ सालमा भएको त्यो उपाधि नै थ्रीस्टारले जितेको पछिल्लो ठ्रूलो उपाधि हो । त्यसयता मोफसलका गोल्डकपको उपाधि जिते पनि शीर्ष श्रेणीको लिगमा उसले विरासत फर्काउन सकेको छैन ।

हुनत २०३१ साल तिरै मंगलबजारका उत्साही युवाको समुहले खेलकुद विकासका लागि क्लब सुरुवात गरेका हुन् । डी डिभिजनदेखी यात्रा थालेको थ्रीस्टारले २०३९ सालमा पहिलो पटक शीर्ष श्रेणीको लिग खेलेको हो ।

२०५४ मा पहिलो पटक ए डिभिजन लिग जिते लगतै २०५५ मा दोस्रो उपाधि जित्दा २०६१ र २०६९ मा गरि ४ पटक थीस्टार लिग च्याम्पियन बन्यो । त्यसपछि केहि कमजोर देखिएको थीस्टार पछिल्ला ४ संस्करणमा क्रमश दोस्रो, तेस्रो, चौंथो स्थानमा खस्किएर पछिल्लो संस्करण छैटौं स्थानमा आएको थियो । यसैलाई उकास्दै पाटनको यो लोकप्रिय क्लबलाई फेरि च्याम्पियन बनाउने जिम्मेवारीमा प्रशिक्षक मेघराज केसी खरो उत्रिएका छन् ।

२०५० र ६० को दशक नेपाली फुटबलमा पावरहाउसको छवी बनाएको यो क्लबमा त्यस समय लगभग राष्ट्रिय टोलीका खेलाडी नै भरिभराउ थिए। यसै क्लबबाट प्रदीप महर्जन, सन्तोष साहुखल जस्ता स्टार खेलाडी पनि जन्मिए ।

लिगको उपाधि होडमा फर्किन संघर्ष गरिरहेको थ्रीस्टारले २०६२ मा नेपालमै भएको एएफसी प्रेसिडेन्ट्स कपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । अहिले फरवार्ड अजायी मार्टिन्स, मिडफिल्डर अनिल महर्जन, लोकन लिम्बु, गोलकिपर मोहमद ताहा जस्ता खेलाडी उच्च लयमा रहनु थीस्टारका लागि राम्रो संकेत हो ।

जारी लिगमा ११ खेल खेल्दा मोहमद ताहा ८ खेलमा क्लिनसिट राख्दै यो सूचीको शीर्षस्थानमा छन् । यसबाहेक क्लबले आफ्ना अनुभवी खेलाडी विराज महर्जन र सन्तोष साहुखल जस्ता पूर्व खेलाडी भित्र्याउँदै सन्तुलित टोली बनाएको छ । डबल राउण्ड रोबिनका आधारमा भइरहेको लिगमा अझै आधा खेल खेल्न बाँकी छ । त्यसैले अहिलेनै उपाधिको अनुमान भने गरिहाल्ने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्