खेलकूद

त्रिवि मैदानमा कहिले बन्ला फ्लड लाइट ? (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १५ गते २०:२७
त्रिवि मैदानमा कहिले बन्ला फ्लड लाइट ? (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जोड्न निर्देशन दिएको एक महिनाभन्दा बढी भइसक्यो । तर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन भने कछुवाको गतिमा हुँदैछ । स्कोर बोर्ड राख्ने र मैदान स्तरोन्तति गर्ने काम त सुरु नै भएको छैन ।

गत महिना राष्ट्रिय क्रिकेट टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको प्रतिक्रिया हो यो । आईसिसी विश्व क्रिकेट लिग टु को अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुगेको थियो ।

यही अबसरमा प्रधानमन्त्रीले राष्ट्रिय टोलीका सदस्यलाई बालुवाटारमा बोलाएर खेलाडीलाई जनही ३–३ लाख नगद पुरस्कार दिने घोषणा गर्दै त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड सहित मैदानको समेत स्तरोन्नती गर्ने बताउनु भएको थियो ।

उहाँले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई तत्काल यो काम गर्न निर्देशन दिँदै आवश्यक सहयोग गरिने बताउनुभयो । प्रधानमन्त्री निर्देशन पाउनासाथ तातिएको राखेपको कामको गति भने सुस्त छ ।

सरकारले तत्काल गर्नु भने पनि यसका लागि प्रक्रिया लामो छ । मैदानमा फ्लड लाइट राख्न आवश्यक उपकरण विदेशबाट झिकाउनु पर्ने र जडानका लागि टेण्डर प्रक्रियामा जानु पर्ने हुँदा तत्कालै काम हुन कठिन छ ।

अहिलेलाई लाईटको मात्र टेण्डर आह्वान भएको र त्यो समय अझै २० दिन बाँकी छ । यसबाहेक स्कोरबोर्डका लागि छुट्टै टेण्डर निकाल्नु पर्ने र मैदानको स्तरोन्नतीका लागि त्रिभुवन विश्वविद्यालयसँग समेत छलफल गर्नुपर्ने काम बाँकी छ । खेलकुद क्षेत्रले आफ्नो अभिभावक खेलकुद मन्त्री नपाएको महिनौं भयो ।

यस्तोमा प्रधानमन्त्री आफैले खेलकुद मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहनु भएको छ । पछिल्लो समय खेलक्षेत्रमा उहाँको चासो र सक्रियता समेत बढ्दो छ । उद्यपी कुनै पनि खेलले सफलता पाउँदा त्यसको श्रेय लिन र नगद पुरस्कार सहित खेल पूर्वाधार निर्माणको घोषणा गर्न होडबाजी गर्ने तर समयक्रमसँगै सेलाउने घटना नौलो होइन ।

यसअघि पनि धेरै पटक खेल क्षेत्रमा ठूला ठूला पूर्वाधार बनाउने घोषणा गर्ने तर कामनै सुरु नभएका थुप्रै उदाहरण छन् । यस पटक पनि प्रधानमन्त्रीको निर्देशन त्यसैको निरन्तरता मात्र हो वा कार्यान्वयन पनि हुने हो त्यो भने उहाँकै इच्छा शक्तिमा निर्भर हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्