स्टक एक्सचेञ्ज बढ्दो चलखेल (भिडियो रिपोर्टसहित)

११ वैशाख २०८० काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज संचालनका लागि नेपाल धितोपत्र बोर्डमा ३ वटा आवेदन परेका छन् । ऐनमा भएको व्यवस्था अनुसार अबको ३५ दिनभित्र बजारमा अर्को नयाँ कम्पनी थपिने छ । जुन, निजी क्षेत्रबाट चल्ने पहिलो स्टक एक्सचेञ्ज हुनेछ ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका हुन् । यी मध्येबाट एक कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अबको ३५ दिनभित्र संचालन अनुमति दिनेछ । शेयर बजारमा अहिले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को एकाधिकार छ। नेप्से फ्रन्टलाइन रेगुलेटरको रुपमा धितोपत्र बजार संचालन गर्ने एक मात्र कम्पनी हो ।
नेप्सेमा सरकारको ५८ दशमलव ६६ प्रतिशत शेयर छ । दुई सय ५० को हारहारीमा कम्पनी सुचीकृत छन् । एउटा मात्र कम्पनी हुँदा धितोपत्रका सम्पूर्ण क्षेत्र समेट्न नसकेको र परिवर्तित प्रविधि प्रयोग नगरेको आरोप लाग्दै आएको छ ।
धितोपत्रको दायरा बढाउन र सरकारको राजस्वको दायरा बढाउन नयाँ स्टकले भूमिका खेल्ने विश्वास छ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५६ लाख ४२ हजार र अनलाईनबाट देस्रो बजारमा शेयर कारोबार गर्नेको संख्या १९ लाख पुगेको छ। सरकारी स्वामित्वको नेप्से हुँदाहुँदै अर्को स्टक एक्सचेञ्ज ल्याउँदा सरकारको लगानी समेत जोखिममा पर्ने कतिपयको आरोप छ ।
उसो त २०६६ सालमै अर्को स्टक एक्सचेञ्ज आउनुपर्ने सुझाव दिइएको थियो । तर अहिलेसम्म यो प्रक्रिया बिवादमै रुमलिएको थियो ।
लाइसेन्सका लागि तीन शक्तिशाली घरानाबीच प्रतिस्पर्धा
३ अर्ब रुपैयाँ चुक्ता पुँजी रहने नयाँ स्टकका लागि ठूला व्यवसायीक घरानाले इच्छा देखाएका छन् । जसका कारण लाइसेन्स हत्याउन ठूला व्यवसायिक घरानाबीच जुंगाको लगाई नै हुने अनुमान गर्न सकिन्छ । कुन कम्पनीमा कसको लगानी ?
हिमालयन स्टक एक्सचेञ्ज
यस कम्पनीमा शंकर ग्रुपका शंकरलाल अग्रवाल, उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरु भवानी राणा, पशुपति मुरारका, खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगडसहितका ठूला व्यवसायी घरानाको लगानी रहेको छ ।
नेशनल स्टक एक्सचेञ्ज
यस कम्पनीमा गैरआवासीय नेपालीसहित नेपालका केही घरानाहरुको लगानी रहेको छ। एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्वअध्यक्ष, जीवा लामिछाने तथा हालका अध्यक्ष कुल आचार्य, बद्री आचार्यसहित सिद्धार्थ ग्रुप र अग्नी ग्रुपको लगानी रहेको छ।
अन्नपूर्ण एक्सचेञ्ज
यस कम्पनीमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, अनिल सापकोटा, शेखर सुवेदी लगायतका व्यवसायीको लगानी छ । अहिले नेप्सेले बार्षिक १ अर्बभन्दा बढी नाफा गर्दै आएको छ । यो नाफालाई देखेरै निजी क्षेत्रको नयाँ कम्पनी संचालनमा रुची बढेको हो । तसर्थ लाइसेन्स हात पार्न ठूला घरानाले ठूलै आर्थिक चलखेल समेत गर्नेछन् ।
प्रतिक्रिया