खेलकूद

सन्दीपका १०० विकेट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ८ गते २०:४४
सन्दीपका १०० विकेट (भिडियो रिपोर्टसहित)

८ वैशाख २०८० काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक छिटो १ सय विकेट पुरा गर्ने कीर्तिमान बनाएका छन् ।

एसिसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाएका हुन् । अफगानिस्तानका राशिद खानको कीर्तिमान तोड्दै सन्दीपले ४२ खेलमा १ सय विकेट पुरा गरे ।

एसिसी प्रिमियर कप अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा ओमानको सामना गर्दा नेपालले आफ्नो ५० औं ओडिआई खेल्यो । नेपाली टोलीका लागि त यो खेल विशेष थियो नै, साथमा पूर्व कप्तान तथा स्पिनर सन्दीपका लागि यो खेल ऐतिहासिक बन्यो ।

ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट लिने खेलाडी बन्ने बाटोमा रहेका सन्दीपले ओमानविरुद्ध त्यो दुर्लभ विश्व कीर्तिमान बनाए । १३ औं ओभरको तेस्रो बलमा विकेटकिपर ब्याटर अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआईमा कम खेलमा १ सय विकेट लिने कीर्तिमान बनाएका हुन् ।

यसअघि ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट पुरा गर्ने कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । राशिद खानले ४४ खेलमा १ सय विकेट पुरा गरेका थिए । राशिदको कीर्तिमान तोड्दै सन्दीपले ४२ औं ओडिआई खेलमा १ सय विकेट लिए ।

सन्दीप र राशिदपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा, पाकिस्तानका सक्लैन मुश्ताक ५३ खेलमा, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४–५४ खेलमा १ सय विकेट लिएका थिए ।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यु गरेका सन्दीपले ३ पटक पाँचमाथि विकेट लिएका छन् । यसबाहेक ओडआईमा कम खेलमा ५० विकेट लिने सुचीमा उनी विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पुरा गरेका थिए । यो सुचीमा श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै शीर्षस्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्