खेलकूद

ओमानविरुद्ध नेपालको कीर्तिमानी स्कोर, ओमान ३११ रनको लक्ष्य पछ्याउँदै

कुशलको कीर्तिमानी शतक

२०८० वैशाख ८ गते १३:१२
ओमानविरुद्ध नेपालको कीर्तिमानी स्कोर, ओमान ३११ रनको लक्ष्य पछ्याउँदै

८ वैशाख २०८० काठमाडौं । अलराउन्डर कुशल मल्लले कीर्तिमानी शतक बनाउँदा नेपालले एसिसी प्रिमियर कपमा ओमानलाई ३ सय ११ रनको विशाल चुनौती पेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रन बनायो । कुनै पनि एक दिवसियमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च रन हो । यसअघि गत महिना आइसिसी विश्व क्रिकेट लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध २ सय ९७ रनको चुनौती पेश गरेको थियो ।

खराब सुरुवात गरेको नेपाललाई विशाल योगफल दिलाउन बायाँ हाते युवा खेलाडी कुशल मल्लले कीर्तिमानी शतक बनाए । ५९ बलमा ९ चौका र ९ छक्कासहित शतक पुरा गरेका कुशल ओडिआईमा नेपालका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।

कीर्तिपुरमै रोहितले पपुवा न्युगिनीविरुद्ध ९१ बलमा शतक बनाउँदै यो कीर्तिमान बनाएका थिए । ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै शतक पुरा गरेका कुशलको यो पहिलो शतक पनि हो । समग्रमा भने ओडिआईमा शतक बनाउने उनी छैटौं नेपाली खेलाडी भए ।

यसअघि नेपालबाट पारस खड्का, रोहित, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाईसकेका छन् । ४१ औं ओभरको चौंथो बलमा अकिबको बलमा कुशल आयन खानबाट क्याच भए ।

२८ औं बलमा पहिलो रन बनाउँदा नेपालका दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शुन्यमै आउट भए । भिम सार्की र कप्तान रोहितले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै पाली सम्हाल्दा मध्येक्रममा आरिफ शेख र कुशलले ७५ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलतर्फ डोर्याए ।

तल्लो क्रममा सोमपाल कामीले नटआउट ६३ रन बनाए । ३९ बलमा ५० रन पुरा गरेको सोमपालको यो ओडिआईमा दोस्रो अर्धशतक हो । करण केसीले नटआउट २९ रन जोडे । बलिङमा आयान खानले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *