खेलकूद

एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालको विजयी शुरूवात

मलेसिया ६ विकेटले पराजित

हिमालय टिभी
२०८० वैशाख ५ गते १६:०५
एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालको विजयी शुरूवात

५ वैशाख २०८० काठमाडौं । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बल खेल्दै पाँच चौका प्रहार गरे ।

त्यस्तै, कुशल मल्लले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७० रन बनाए । साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ तथा दीपेन्द्र सिंह ऐरीले अविजित ५ रन जोडे ।

बलिङतर्फ मलेसियाका मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिहंले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । ९५ बल खेलेका उनले आठ चौका र एक छक्का प्रहार गरे । त्यस्तै विरन्दीप सिंहले ४६ रन बनाए भने मोहम्मद आमिरले १७ रन जोडे ।

त्यस्तै, खिजार ह्यायातले २२ तथा सैजरुल इद्रुसले २१ रन बनाए । विजय उन्नीले १२ रन जोडे भने सायद अजिज १३ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा गुल्सन झाले एक विकेट झारे । यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अङ्क जोडेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन् ।

त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । भोलि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन् ।

यसअघि एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे । सिङ्गापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । सिङ्गापुरका लागि आरित्र दक्तले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५७ बलमा ९ चौका प्रहार गरे ।

यसैगरी आर्यन मोदीले २१, रमेश कालीमुथुले १८, थिलिपन अमाइदुराइ र अभी दीक्षितले समान १२ तथा सुरेन्द्रन चन्द्रमोहन र प्रशिन परमले समान १०/१० रन जोडे ।

हङकङका लागि एहसान खानले चार विकेट लिए भने यासिम मूर्ताजाले तीन विकेट झारे । त्यसैगरी मोहम्मद घनजफर, अइजाज खान र आयुष शुक्लाले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्