खेलकूद

सुनसान ए डिभिजन लिग (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ४ गते ७:०३
सुनसान ए डिभिजन लिग (भिडियो रिपोर्टसहित)

४ वैशाख २०८० काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय खेल हो फुटबल । तर जारी घरेलु फुटबलको शीर्ष श्रेणीको सहिद स्मारक ए डिभिजन लिगमा दर्शकको उपस्थिति हेर्ने हो भने यो कुरा मेल खाँदैन । कुनै समय घरेलु फुटबलमै खचाखच दर्शकले भरिने गरेको दशरथ रंगशाला जारी लिगमा भने सुनसान जस्तै छ ।

एक समय थियो दशरथ रंगशालामा कुनै खेल हुँदा दर्शकको उपस्थिति यति बाक्लो हुन्थ्यो कि, त्रिपुरेश्वर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्थ्यो । ६९ वर्षअघि महावीर क्लबको खेल हुँदा डिल्लीबजार सुनसान हुन्थ्यो । पूरै टोल उर्लिएर रंगशाला पुग्थ्यो ।

एनआरटीको खेल हुँदा न्युरोड र आरसिटीको खेल हुँदा पुरै जमल क्षेत्रका बजार नै बन्द हुने गरेको एकादेशको कथा जस्तै भएको छ । धेरै टाढा जानु पर्दैन, १ दशक अगाडि फर्कने हो भने फुटबलको क्रेज नेपालमा व्यापक थियो । नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, थ्रीस्टार र मनाङ मर्स्याङ्दी त्यस समयका महारथी हुन् । थ्रीस्टारको खेल हुँदा मंगलबजारका बासिन्दाले रंगशाला भरिन्थ्यो । तर जारी लिगले दर्शक पाउनै छाडेको छ।

२०७२ सालको भुकम्पपछि रोकिएर ०७५ सालदेखि लिग पुन शुरु भयो । तर दर्शकलाई रंगशालासम्म तान्न भने सकेन । दर्शकलाई आकर्षित गर्न अखिल नेपाल फुटबल संघ एन्फाले ल्याएको योजनाले पनि कुनै काम गरेन। पछिल्लो ३ संस्करणमा लिगमा दर्शकको चासोनै देखिएन् ।

पछिल्लो पटक दशरथ रंगशाला पुर्ण रुपमा भरिएको १३ औं सागको पुरुष फुटबलमा हो । यसबीचमा भएका केहि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शक रंगशालामै पुगे । गत महिना सम्पन्न थ्री नेशन्स कपको फाइनलमा नेपाल र लाओसबीचको खेल हेर्न ९ हजार दर्शक रंगशाला पुगे । तर लिगमा भने दर्शकको संख्या नगन्य छ । लिगको आठौं चरणका ७ खेलमा गरि प्रत्यक्ष मैदानमै पुगेर खेल हेर्ने दर्शकको संख्या ७ हजारभन्दा कम छ ।

जारी संस्करण अहिलेसम्म बढी दर्शक एपिएफ र थ्रीस्टारबीच खेल हेर्न पुगे । पहिलो चरणमा भएको त्यस खेलमा अहिलेसम्मकै सर्वाधिक ३५ सय दर्शक दशरथ रंगशाला पुगे ।

घरेलु फुटबलमा थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबलाई कट्टर प्रतिद्धन्दी मानिन्छ । यि दुईबीचको खेल हेर्न रंगशाला पुरै भरिन्थ्यो । तर यस पटक यि दुईबीचको खेलमा जम्मा २८ सय ३५ जना मात्र दर्शक रंगशाला पुगे । आठौं चरणसम्मको तथ्यांक हेर्ने हो भने प्रत्येक चरणमा औसत १० हजारको दरले ८० हजार दर्शक मात्र मैदानमा पुगेको देखिन्छ । यसलाई न्युनतम १ सय रुपैयाँको टिकट दरले हिसाब गर्दा ८० लाख रुपैयाँ मात्र गेट मनि संकलन भएको छ । यसको मुख्य कारण एन्फाले लिगको प्रचार प्रसार नगर्नु नै हो ।

एन्फाले रंगशालामा दर्शकका लागि टिकट दर साधारणतर्फ १०० र भिआईपितर्फ ३०० रुपैंयाँ राखेको छ । यसमध्ये पनि साँझको खेलमा दर्शकको साथ पाउने आशा एन्फाको थियो । तथापी दर्शकलाई यसले पनि तानेन । फुटबलमा समर्थकनै हराएको भने होइन् । मोफसलका गोल्डकप हेर्न हो भने थेगि नसक्नु दर्शकको ओइरो लागेको पाइन्छ । तर एन्फाले जसोतसो लिग सम्पन्न गर्न तिर मात्र केन्द्रित हुँदा दर्शकको साथ भने गुमाईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्