राजनीति

बारा-२ का एमाले उम्मेदवार पौडेलसँग एक दिन(भिडियो रिपोर्टसहित)

२०७९ चैत २८ गते २०:५५
बारा-२ का एमाले उम्मेदवार पौडेलसँग एक दिन(भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ बारा । वैशाख १० को उपनिर्वाचन आउन अब १२ दिन बाँकी छ । अबको १० दिनसम्म मात्रै प्रचारप्रसार गर्न पाइने भएकाले उम्मेदवार निर्वाचन क्षेत्रमा मतदाताको घरदैलोमा पुगेका छन् ।

अधिकांश उम्मेदवारको भोट माग्ने शैली फरक हुन्छ । बस्ती छिरेर भोट माग्दा खुट्टा ढोग्नेदेखि खेत खलियानसम्म पुग्ने उम्मेदवार भेटिन्छन् । यस्तै शैली अहिले एमालेबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार पुरुषोत्तम पौडेलले अपनाइरहेका छन् । सहकर्मी राकेश यादवले दिनभर पौडेलसँग बिताउँदा देख्नुभएको मत माग्ने शैली हेरौँ ।

बारा जिल्ला । चैतको गर्मी । अपराह्नको ३५ डिग्री सेल्सियसको चर्को घाम । यही घाममा गुलाबी कमीज सुरुवाल लगाएका यिनी हुन्– पुरुषोत्तम पौडेल । उनी एमालेबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । यो दृष्य पचरौता नगरपालिकाको हो । उनी मतदाताको घरघर पुग्दै यसरी भोट मागिरहेका छन् ।

प्रचारमा हिँड्नेको संख्या धेरै छैन । एउटा गाडी यही भीडलाई पछ्याइरहेको छ । जहाँ एमाले उम्मेदवारलाई जिताउन भोजपुरी भाषामा गीत घन्किरहेको छ ।

गाडीमा वृद्ध मासिन नाच्दै प्रचारमा छन् । अगाडि अगाडि पौडेल मतदाताको घर, खेतमा जाँदै मत मागिरहेका छन् । चुनाव आएपछि बस्ती छिरेर भोट माग्दा खुट्टा ढोग्नेदेखि खेत खलियानसम्म पुग्ने धेरै छन् । पौडेलले त्यही शैली त अपनाएका छैनन् । तर, उनी पनि मतदातालाई विजयी भवःको आशिर्वाद भने माग्न पछि परेनन् । तर, एक मतदाता लजाइन् ।

हुन त उनको शैलीमा पनि कतै न कतै मतादाता फकाउने प्रेरित नभएको भने होइन । बोरिङ खनेको ठाउँमा गएर सहयोग गर्न उनी पनि पछि परेनन् ।

गर्मीको पनि परवाह नगरी पौडेलले मत अपिल भने गरिनै रहे । मन्द मुुस्कानका साथ हात जोडेर मत मागिरहँदा उनका सहयोगी भने मतदातालाई अनेक आश्वासन बाँडिरहेका थिए । महिला सशक्तिकरणको आवाज उठाउनेदेखि उनीहरूको समस्या समाधान हुने आश्वस्त पार्न पनि पछि भने पर्दैनन् ।

हुन पनि बाराबाट ह्याट्रिक गर्ने योजनामा रहेका पौडेललाई मंसिर ४ को चुनाव फलिफाप भएन । तर, उपनिर्वाचनलाई अवसरको रूपमा लिएका पौडेल जसरी भएपनि जीत आफ्नो नाममा गर्ने योजनामा छन् । तर, सहज भने छैन ।

उनका प्रतिस्पर्धी जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल छन् । मन्दिर गएर ढोग्नेदेखि गोठ र कोठासम्म पुगेर मत मागेका पौडेलको भाग्योदय हुन्छ वा हुँदैन ? त्यसका लागि वैशाख १० पर्खनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्