Main News

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री प्रचण्ड

हिमालय टिभी
२०७९ चैत २८ गते १३:३४
बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री प्रचण्ड

२८ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताउनुभएको छ ।

आज उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताउनुभयो ।

उहाँले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताउनु भयो । उहाँले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि बताउनुभयो ।

उहाँले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताउनु भयो । झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको बताउनुभयो ।

उहाँले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *