Main News

जग्गा किर्तेमा जसपाका नेता (भिडियो रिपोर्टसहित)

२०७९ चैत २७ गते २१:०४
जग्गा किर्तेमा जसपाका नेता (भिडियो रिपोर्टसहित)

२७ चैत २०७९ बारा । मुलुकमा सबैभन्दा बढी भ्रष्टाचार हुने ठाउँमध्ये मालपोत पनि एक हो । मरेको मान्छेलाई जिउँदै र जिउँदोलाई मरेको देखाएर कर्मचारीको मिलेमतोमा जग्गा हडपेको किस्सा बेलाबेला सुन्ने गरिन्छ ।

अहिले बारामा जसपाका पूर्व जिल्ला अध्यक्ष अजय पटेलले त मोही नभएको जग्गा आफ्नो बुवाको नाममा देखाई किर्ते गरेका छन् । र, अहिले प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यिनी हुन्– अजय पटेल । उनी बाराका सत्तारुढ जसपाका नेता हुन् । उनी यही पार्टीको जिल्ला अध्यक्ष समेत भइसकेका छन् । यिनै पटेलले काठमाडौँ निवासी विजयमणि आचार्य दीक्षितको पाँच बिघा १९ कठ्ठा १५ धुर जग्गा किर्ते गरे । २०२२ सालदेखि नै दीक्षितको नाममा भएको जग्गालाई पटेलले कर्मचारीको मिलेमतोमा किता नम्बर ४१ को पाँच बिघा १९ कठ्ठा १५ धुर जग्गा किर्ते गरी मोही देखाएका थिए ।

उक्त जग्गा किताकाट भई कायम भएको किता नम्बर २५२ को पाँच विगाहा ६ कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय बाराबाट गत वैशाख २६ गते राजीनामा लिखत पास भई शिरोम इन्भेष्टमेन्ट प्रालि काठमाडौँको नाममा कायम गरिएको थियो । पटेलले भूमिसुधार कार्यालयमा आफ्ना बुवा मदनप्रसाद कुर्मीको नाममा किर्ते कागजात तयार पारी मोही देखाएका थिए । त्यसपछि फरार भएका पटेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फागुन ३० मा पक्राउ गर्यो । कागजात किर्ते भएको नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले पुष्टि समेत गरेको छ ।

पटेललाई हेटौंडा गइरहेको बेला सिमरा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । २०२२ सालदेखि नै निजी व्यक्तिको नाममा भएको जग्गालाई गैरकानूनी ढंगले भोगचलन गर्दै आएका पटेलले जग्गा हडप्ने काइदा योजना त बनाए । तर, ढाँटे कुरा काटे मिल्दैन भनेझैँ जब भूमिसुधार कार्यालयले त्यसबारेमा अध्ययन सुरु गर्यो तब कागजात शंकास्पद देखियो । र, अनुसन्धानबाट सबै कागजात किर्ते गरेको खुल्न आयो ।

दीक्षितको नाम रहेको १० बिघा १५ कठ्ठा क्षेत्रफल रहेको जग्गामा पटेलले जनता समाजवादी पार्टीको झण्डा नै गाडेर कब्जामा लिएर पोखरी बनाएर माछा व्यवसाय चलाउँदै आएका थिए । जब जग्गा विक्रीका लागि बाटो सिफारिस लिएर वडा कार्यालय पुग्दा पटेलले उनी र वडाका कर्मचारीलाई जग्गा भएको स्थानमा पुग्नै नदिएको सम्झन्छन्– जग्गा धनी ।

तर, पटेल परिवारले भने फसाएको आरोप लगाएका छन् । पटेल तथा दीक्षित परिवारबीच वर्षौंदेखि पारिवारिक सम्बन्ध भएको र दीक्षित परिवारले अभयलाई अलग बनाएपछि पटेल परिवारले पुरानो सम्बन्धका कारण अभयलाई साथ दिएको थियो । यही विषयमा विवाद बढेसँगै दीक्षित परिवारले मोहीबापतको कुत बुझ्न नमानेको र पटेल परिवारले २०७० सालदेखि भूमिसुधार कार्यालय, बारामा कुत बुझाउँदै आएको र अहिले फसाएको उनीहरूको तर्क छ । यसबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *