खेलकूद

ए डिभिजन लिग : कमजोर क्लबलाई विदेशी खेलाडीकाे भर (भिडियो रिपोर्टसहित)

२०७९ चैत २७ गते २०:५७
ए डिभिजन लिग : कमजोर क्लबलाई विदेशी खेलाडीकाे भर (भिडियो रिपोर्टसहित)

२७ चैत २०७९ काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिगमा कमजोर अवस्थाबाट गुज्रिरहेको विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित निकाल्दा उसका विदेशी खेलाडीले प्रेरणादायी प्रदर्शन गरे । लिगको छैटौं चरणसम्म जितविहीन पुलिस रेलिगेशन जोनबाट जोगिन संघर्षरत छ । यस्तोमा उसले पहिलो पटक विदेशी खेलाडी मैदानमा उतार्दै सफलता पायो ।

कुनै समय घरेलु फुटबलमा विभागीय टोलीहरुको एकछत्र राज थियो । राष्ट्रिय टोलीका अधिकांश खेलाडीसहित स्तरीय खेलाडीको पहिलो रोजाईमा पर्दथ्यो विभागीय क्लब । अधिकांश खेलाडी प्रहरी सेवामै कार्यरत हुन्थे । पछिल्लो समय नेपाली खेलाडी करारमा राख्न थालियो । करारमा रहने खेलाडीलाई एक टुर्नामेन्टका लागि सरदर ५० हजारदेखि माथि रकम दिइदै आएको छ ।

हिजो–आज त विभागीय टोलीले विदेशी खेलाडी पनि भित्र्याउन थालेको छ । प्रतिस्पर्धी सिभिल क्लबहरुले खेलाडीमा मोटो रकम खर्चदै खेलाडी भित्र्याउन थालेपछि आफ्नो विरासत जोगाउनै मुस्किल परेको विभागीय टोलीले पनि विदेशी खेलाडी भित्र्याउनु परेको दाबी गर्छ । ६० को दशक लिगमा दबदबा कायम राखेको पुलिस यो सिजन खराब लयबाट गुज्रिरहेको छ ।

छैटौं चरणसम्म जित विहिन बन्दा क्लबले रेलिगेशन दबाब चिर्न र जित नतिजा निकाल्न पहिलोपटक विदेशी खेलाडीलाई मैदानमा उतार्यो । र तिनै खेलाडीको प्रेरणादायी प्रदर्शनमा क्लबले सातौं चरणमा आएर पहिलो जित निकाल्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हराउँदा बुद्ध बल तामाङले २ र डेब्यु टान विदेशी खेलाडी मोजेस टुमले १ गोल गरे । अर्का विदेशी खेलाडी जोय आइडुको प्रदर्शन पनि महत्वपूर्ण रह्यो ।

पुलिसको पहिलो रोजाईमा खेलेका घानाका यि दुई खेलाडी नेपाली फुटबलका लागि नौलो नाम भने होइन् । मिडफिल्डर जोयले मच्छिन्द्रबाट केपी ओली कप फुटबल प्रतियोगिता खेलिसकेका छन् । यसअघि दुवैले क्यामरुनको एभिनियर एफसीबाट मोफसलका गोल्डकपमा सहभागिता जनाएका थिए । लिगमा आबद्ध क्लबले दक्षिण एसिया र एसियाका कम्तीमा १ खेलाडी सहित ५ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ । लिगमा फर्कन प्रयासरत पुलिस अब अन्य खेलाडी अनुबन्ध गर्ने तयारीमा छ ।

नेपाली फुटबलमा सुरुवाती समयदेखी सहभागी भइरहेको पुलिसले आधुनिक फुटबलमा ०६० बाट ए डिभिजन लिग खेल्न थालेको हो । पुलिसले २०६३, ०६६र६७ र ०६८ को संस्करणमा उपाधि जितेको थियो ।

यसअघिपनि पुलिस फोर्सको नाममा २ पटक उपाधि जितिसकेको छ । तर व्यवसायिकरणको अभ्यास थालेसँगै अन्य क्लबहरुले स्तरीय खेलाडी अनुबन्ध गर्दा विभागीय टोलीको पदर्शन कमजोर बन्दै गएको छ ।

३ विभागीय टोलीमध्ये त्रिभुवन आर्मी फुटबल क्लबले भने विदेशी खेलाडी राखिसकेको छैन्, यद्यपी टोलीमा विदेशी खेलाडीको खाँचो रहेको आर्मीका प्रशिक्षकले बताउने गरेका छन् । गत संस्करण कान्छो विभागीय टोली एपिएफ क्लबले पहिलोपटक विदेशी खेलाडी अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्