Main News

मन्त्री बन्न रास्वपा सांसदको दुई करोड डिल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २६ गते २१:०६
मन्त्री बन्न रास्वपा सांसदको दुई करोड डिल (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले मन्त्री बन्न पार्टीलाई साढे दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यापारीसँग पैसाको डिल गरेको अडियो बाहिरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईलाई फोन गरेर पैसा मागेको अडियो बाहिरिएको हो ।

यसरी मन्त्री बन्न दुई करोड चाहियो भन्दै डिल गर्ने व्यक्ति हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद ढाकाकुमार श्रेष्ठ। पोखराका सांसद श्रेष्ठलाई यसअधि सहकारी ठगीको आरोप पनि लागेको थियो। र, ढाकाले डिल गरेका व्यक्ति हुन्, व्यवसायी दुर्गा प्रसाईं।

संवाद पुस २ गतेको हो। जतिबेला नयाँ सरकार गठनको गृहकार्य भइरहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान खुट्टा उचिलिरहेको थियो। संवादमा ढाकाले रास्वपाले आफूलाई स्वास्थ्यमन्त्री बनाउने निश्चित भएको तर, त्यसका लागि साढे दुई करोडसम्म पैसा मागेको प्रसाईंलाई सुनाउँछन्। र, त्यो पैसा प्रसाईंले व्यवस्थापन गरिदिनु पर्ने आग्रह छ, सांसद ढाकाकुमारको।

सार्वजनिक भएको अडियोमा प्रसाईंले सोध्छन्, पैसा रविलाई नै बुझाउनु पर्ने होरु ढाका भन्छन्( रवि सर सिनमा आउनु भएको छैन। तर, उहाँकै कोर टिमलाई बुझाउनु पर्छ।

ढाकाकुमारको अनुसार रविलाई सुरुदेखि नै पार्टीमा सहयोग गर्ने र मन्त्रीको टुंगो लगाउने अर्कै टिम छ। र, त्यही टिमले पैसा मागेको हो।

संवादमा प्रसाईं पैसा दिने नै भन्दा कुरा फुत्काउने शैलीमा सुनिन्छन्। प्रसाईं सहयोग गर्ने आश्वासन त दिन्छन्। तर, तत्कालै सबै नसक्ने र एक करोड रुपैयाँ बुझाएर बाँकी पछि दिने गरी कुरो मिलाउन ढाकाकुमारलाई सुझाव दिन्छन्।

प्रसाईंले सहयोग त गर्ने तर पछि तोसिमा कार्की मन्त्री बन्ने हो कि भन्ने आशंका पनि गरेका छन्। जसको प्रतिउत्तरमा ढाकाकुमार तोसिमाको संभावनै नरहेको जिकीर गर्छन्।

फोन संवादमै प्रसाईंले महामन्त्री मुकुल ढकालको कुरा निकल्छन्, तर ढाका कुमारले मुकुल कोर टिममा नभएको यस्तो जवाफ दिन्छन् ।

मन्त्री बन्न पैसा मागेका ढाकाकुमारलाई रास्वपाले मन्त्री बनाएन। मागेको जति पैसा नदिएर हो या अन्य कारणले खुलिसकेको छैन। बरु, ढाकाले संभावना नै छैन भनेको तोसिमा चाहिँ स्वास्थ्य राज्यमन्त्री भएकी थिइन्।

पुरानो राजनीतिक प्रवृत्तिको विकल्प ठानेर नागरिकले अथाह विश्वास खन्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनेका सांसद कस्तो धरातलमा छन्, यो अडियो नै बोलेको छ। त्यसबाहेक अडियोमा सुनिएका पात्र विगतमा पनि पैसा लेनदेनमा नाम मुछिएका हुन्। सहकारीको लेनदेन विवादमा मुछिएका श्रेष्ठलाई रास्वपाले पृष्ठभूमि नबुझेरै प्रतिनिधिसभा जस्तो जनताको आवाज मुखरित गर्ने थलोमा पक्कै पठाएको होइन होला। उनी त रास्वपाका गण्डकी प्रदेशका अध्यक्ष पनि थिए ।
प्रसाईंसँगको अडियो बाहिरिएपछि ढाकाकुमार भने उक्त अडियो आफ्नो नभएको जिकिर गर्छन् ।

ढाकाकुमारले आफ्नो अडियो नभएको दाबी गरिरहँदा उनको पार्टी रास्वपाले भने उनीसँग छलफलै नगरी सांसद पदबाट निलम्बन गरेर कारबाही अघि बढाइसकेको छ ।

वैकल्पिक शक्तिका नाममा उदाएका नयाँ जोगीले पुरानै खरानी घसेर गरेको यो प्रहसनले मतदताले भने जिब्रो टोक्ने अवस्था बनेको छ। यसरी डिल भएको पैसा रास्वपाका कसलाई बुझाउनु पर्छ भन्ने प्रश्नमा सो पार्टीका नेता संवादबारे सत्यताबारे छानविन गरिने र दोषी पाइए कार्बाही गरिने बताउँछन्।

त्यसो त श्रेष्ठ मात्र होइन, रास्वपा सभापति रवि लामिछाने स्वयम् नै नागरिकता, राहदानीलगायतका प्रकरणबाट गुज्रिरहनु भएको छ। राहदानीको मुद्दा विचाराधीन नै छ। विगतमा सरकारमा स्वार्थ बाझिने मन्त्रालय लिएका कारणसमेत विवादमा परेका रास्वपा सांसदहरु सामाजिक सञ्जाललाई प्रतिवादको हतियार बनाइरहेका छन्। तर, नागरिकले गरेको भरोसा र विश्वास टुटाउँदै जाने सिलसिला भने रोकिने छाँट छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *