Main News

विमानस्थलमा लगेज जोगाउनै समस्या, शवको बाकस पनि फोडिन्छ (भिडियो रिपोर्टसहित)

२०७९ चैत २६ गते २०:४७
विमानस्थलमा लगेज जोगाउनै समस्या, शवको बाकस पनि फोडिन्छ (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ काठमाडौं । स्वदेश भित्रिने प्रमुख नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका सामान हराउने वा चोरी हुने घटना नौलो होइन् ।

विमानस्थलकै कर्मचारीको मिलेमतोमा यस्ता चोरी हुने गरेको खुलेपछि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएपछि केही समय यस्ता गतिविधि रोकियो । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विमानस्थलमा शव ल्याइएको बाकस खोलेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएपछि यो विषय पुन चर्चामा आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गत बिहीबार प्रतिनिधिसभाको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव राखिएको बाकससम्म कर्मचारीले फुटाउने गरेको बताउनुभएको यो दृश्य हो । शव बाकससम्म नछाड्ने कर्मचारीले अरु लगेजको हालत कस्तो गर्लान ? आइबार हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं । तर, विमानस्थलका उच्चअधिकारीहरु हाम्रो सम्पर्कमै आउन चाहेनन् ।

यो वेथितिको अवस्था किन आयो भनेर सरोकारवालासँग प्रश्न गर्ने प्रयास गर्यौं तर विमानस्थलका महानिर्देशक र प्रवक्तालेसम्म जवाफ दिन खोजेनन् । सांसद हरि ढकालले भनेझैं विमानस्थलको अवस्था विजोग छ । विमानस्थलमा लगेजहरु सकुसल नपाइने गुनासो धेरै सुन्न पाइन्छ ।

सांसद ढकालले यो विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण समेत गराउनुभएको थियो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ शनिबार त्रिभुवन विमानस्थल पुगेरै पुनर्संरचना प्रस्ताव १५ दिनभित्र प्रस्तुत गर्न निर्देशन दिनुभएको छ । तर, विदेशबाट आएका यात्रुका लगेज, ब्यागहरू टुटफुट हुनु र भएका सामान विमानस्थलबाटै चोरी भएका खबरहरु बेलाबखतमा आइरहेका बारे उहाँले जानकारी लिनुभयो वा भएन सार्वजनिक गरिएन ।

सुरक्षाको दृष्टिकोणमा निकै खराब छाप छोडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका सामान चोरीका घटनाले थप बदनाम भएको छ । लगेजको चेन फुटाएर चोरी गर्दै गर्दा विमानस्थलका लोडर पक्राउ परेपछि प्रहरीले केहि वर्ष अघि शरीरमा गोप्रो तथा बडी वन क्यामेरा राखेको विशेष टोली निगरानीमा खटाई सुरक्षा व्यवस्थापन चुस्त बनाएको थियो । विमानस्थलको यस्तो अवस्थाले यात्रु समेत आजित छन् ।

चालु रहेको देशकै एकमात्र विमानस्थल जहाँबाट दैनिक हजारौं स्वदेशी तथा विदेशी यात्रु आउजाउ गर्छन् । त्यस्तो संवेदनशिल स्थानमा यस्ता चोरीका घटना दैनिक जसो भइरहँदा समेत विमानस्थल व्यवस्थापन गम्भीर देखिएको छैन् ।

विदेशीका नेपालीको रेमिट्यानसले धानेको देशको सरकारले आफ्ना ति नागरिकको सुरक्षामा गम्भीर बन्नु पर्ने हो तर विडम्बना तिनै नागरिक स्वदेश फर्किँदा आफ्नै देशमा लुटिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *