Main News

कमाउ धन्दामा हेटौंडामा सञ्चालित अस्पताल (भिडियो रिपोर्टसहित)

२०७९ चैत २६ गते १६:३५
कमाउ धन्दामा हेटौंडामा सञ्चालित अस्पताल (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ मकवानपुर । बागमती प्रदेशकै राजधानी हेटौंडामा सञ्चालित अस्पताल कमाउ धन्दामा लाग्दा बिरामीले सास्ती ब्यहोर्दै आएका छन् ।

राजनीतिक शक्तिको आडमा सञ्चालकले स्वास्थ्यसम्बन्धी मापदण्डसमेत पालना गरेका छैनन् । नियमनकारी संस्था मुकदर्शक बनेर बस्दा नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

तपाईं बिरामी पर्नुभयो भने के गर्नुहुन्छ । पक्कै पनि अस्पताल जानुहुन्छ । तर अस्पताल नै तपाईंको उपचारमा गम्भीर छैन भने के गर्नुहुन्छ रु यसको जवाफ सायद तपाईसँग छैन ।

बागमती प्रदेशको राजधानी हेटौंडामा हुनुहुन्छ भने अस्पताल जानुभन्दा अगाडी दुई पटक सोच्नुस् । किनभने यहाँ संचालित आधा दर्जनभन्दा बढी अस्पतालले न्यूनतम मापदण्ड समेत पूरा गरेका छैनन् ।

हेटौंडाका मकवानपुर सहकारी, सन्चो, सिटी, मोडेल, चुरेहिलगायतका अस्पताल मापदण्ड विपरित सञ्चालित छन् । यी अस्पतालले स्वास्थ्य सेवा नियमावलीले तोकेको न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् । कमाउ धन्दामा लागेका अस्पतालले नियम कानून मिचेर सेवाग्राहीको ढाड सेक्ने काम गरिरहेका छन् ।

यहाँका अस्पतालले अनुमति लिएकोभन्दा दुई गुणभन्दा बढी शैया चलाइरहेका छन् । साँघुरा भवनका साँघुरा कोठामा विरामी जाँचिन्छन् । एक ठाउँबाट अर्को ठाउँमा विरामी लैजानका लागि ट्रली र ह्वीलचेयर गुड्ने पर्याप्त ठाउँ छैन । विरामी कुरुवा बस्ने ठाउँ पनि छैन ।

हेटौंडाका ठूला भनिएका मकवानपुर सहकारी अस्पतालमा कांग्रेसका जिल्ला नेता तथा हेटौंडा उपमहानगरपालिका–२ का वडाअध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सन्चो अस्पतालमा हेटौंडाका उपमेयर राजेश बानियाँ र चुरेहिल अस्पतालमा अजेय सुमार्गीको लगानी छ । जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने अस्पताल निर्वाध चलिरहँदा प्रशासन मौन बस्नु शंकास्पद छ ।

अस्पतालका इमर्जेन्सी र फार्मेसीमा म्याद गुज्रिएका औषधि छ्यापछ्याप्ती भेटिन्छन् । स्वास्थ्य नियमावलीमा तोकिए अनुसार मापदण्ड पूरा भएकालाई मात्र स्वास्थ्य सस्था सञ्चालन अनुमति दिन पाइने प्रावधान छ । तर प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको स्वास्थ्य कार्यालय मकवानपुर, र हेटौंडा उपमहानगरपालिकाले मापदण्ड नै नपुगेका अस्पताल र स्वास्थ्य संस्थालाई सञ्चालन अनुमति दिइरहेका छन् । यस्तोमा स्वस्थ्य क्षेत्रलाई कमाउधन्दा बनाएकालाई साथ दिएर सरकारले नै नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *