आर्थिक

पर्यटकले गुल्जार बन्दै पोखरा (भिडियो रिपोर्टसहित)

२०७९ चैत २६ गते १६:२४
पर्यटकले गुल्जार बन्दै पोखरा (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ चितवन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण गरेपछि पर्यटकका लागि काठमाडौंको ठमेल पहिलो गन्तव्य बनेजस्तै पर्यटक पुग्ने अरु महत्वपूर्ण गन्तव्य हो, चितवन र पोखरा ।

तथ्यांक अनुसार नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत पोखरा र चितवन पुग्ने गर्दछन् । कोभिडले आक्रान्त बनेको पोखरा र चितवनका पर्यटन व्यवसाय अहिले गुलजार बन्न पुगेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपाल भित्रिएका २ लाख २७ हजार ७ सय ५५ पर्यटक मध्ये ५० प्रतिशत पर्यटक पोखरा भित्रिएका छन् । सोही अनुपातमा चितवन पुगेका छन् । कोभिडपछि ६० प्रतिशत पर्यटक आउने अनुमान गरेपनि त्यो क्रम केही घटेको छ । तर, जति आएका छन्, यसले पर्यटन क्षेत्रलाई लयमा फर्काउँदैछ ।

अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय सिजनका रूपमा लिने गरिन्छ । त्यही सिजनमा विस्तारै पर्यटकको अनुपात बढ्नुले सकरात्मक सन्देश भने प्रवाह गरेको छ ।

कोरोनापछि सबैभन्दा धेरै भारतका पर्यटक नेपाल भित्रिएका छन् भने त्यसपछि चिनियाँ पर्यटक नै नेपाल भित्रिएका छन् । होटल भरिभराउ हुने गरेका छन् भने अन्य व्यवसायको पनि आर्थिक वृद्धि भएको छ ।

चितवन पनि उत्तिकै लयमा छ । वन्यजन्तु प्रेमी र अवलोकनका लागि चितवनले कमाएको ख्यातीका कारण आन्तरिकसँगै बाह्य पर्यटकले गुलजार हुनथालेको छ । जति धेरै सुविधा उति धेरै पर्यटक भन्ने बुझेका चितवनका पर्यटन व्यवसायीले अहिले १ सय १० वटा सुविधायुक्त होटल सञ्चालन गरेका छन् । ६० भन्दा बढी रेस्टुरेन्ट चलिरहेका छन् । दैनिक झण्डै तीन हजार पर्यटकलाई स्वागत गर्न सक्ने हैसियत बनाउँदा पर्यटक काठमाडौँमा टहलिएपछि चितवन पनि पुग्छन् ।

हरित वनस्पति, चराचुरुङ्गी र जनावरको उपस्थितिले चितवन मन्त्रमुग्ध बनाउने पर्यटकी क्षेत्र हो । दुर्लभ वन्यजन्तु सजिलैसँग अवलोकन गर्न सकिने विशेषताले कोरोनापछि पनि सौराहाले लय समातिरहेको छ ।

पछिल्लो केही वर्षदेखि ‘न्यू इयर सेलिब्रेसन’ गर्ने ट्रेण्ड बढेको छ । अंग्रेजी होस् वा नेपाली नयाँ वर्ष, आन्तरिक पर्यटकको चाप बढ्दो छ । नेपाली नयाँ वर्ष आउन पाँच दिन बाँकी रहँदा पोखरा र चितवनका होटल आन्तरिक पर्यटकको उपस्थिति पनि बाक्लिँदै जाँदा नेपाली संस्कृतिप्रति लोभिएका विदेशी पर्यटक थप चितवन र पोखरामा बसाई लम्बाई रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *