Main News

बालेनको आक्रोश, सामाजिक सञ्जालमा अस्वभाविक अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २५ गते २०:५२
बालेनको आक्रोश, सामाजिक सञ्जालमा अस्वभाविक अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह कामको शैली मात्र होइन अभिव्यक्तिको शैलीमा पनि धेरै स्वच्छन्द हुँदै जानु भएको छ । सामाजिक सञ्जालहरुको प्रयोगमा न्यूनतम पदीय मर्यादा पनि ख्याल नगर्दा उहाँका अभिव्यक्ति आलोचित हुन थालेका छन् ।

रुखो व्यवहार कसैलाई पनि मन पर्दैन, भन्न त भनिन्छ मान्छे स्टेट फर्वाड हुनुपर्छ, तर त्यो भन्दा बलियो गरी भनिन्छ, आफूलाई मन नपर्ने व्यवहार अरुलाई पनि गर्नुहुँदैन ।

अरु कसैप्रति दोषारोपण गर्नु र आम रुपमा प्राप्त विश्वासको फाइदा उठाएर कसैविरुद्ध माहोल तयार गर्नु क्लियर कट हुनु होइन । अरुका विषयमा जति पनि आलोचना गर्न रुचाउने समाज आफ्ना विरुद्ध आलोचनाको एक शब्द पनि सुन्न सक्दैन । बरु यसका लागि प्रतिकार समूह नै बनाएर बस्छ । अहिले त सामाजिक सञ्जालहरु नै प्रतिकार गर्ने सैन्य डफ्फा बनिरहेका छन् । यही शैली अपनाइरहनु भएको छ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ।

मेयर शाह राजनीतिक घटनाक्रम, दलीय प्रवत्ति लगायतका विषयमा पनि तिखो टिप्पणी गर्नुहुन्छ । वर्तमान राजनीति र यसको प्रवृत्तिप्रति रुष्ट देखिने शाहले गत पुस १० गते एमाले र माओवादी लगायतका दलबीच बन्न लागेको समीकरणको छलफल चल्दै गर्दा फेसबुकबाटै अस्वभाविक टिप्पणी गर्नुभयो । नयाँ समीकरण लक्षित उहाँको प्रश्न थियो, देश के हो, व्यापार हो, खेल हो ?

त्यसै दिन एमाले, माओवादी, राप्रपा, रास्वपा लगायतका दलबीच गठबन्धन नै बनेपछि फेरि उहाँ रोकिनु भएन । राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनवटै सरकारमा, हामी प्रजा सँधै सास्तीमा ।

त्यसो त बालेनले त्यसको अघिल्लो दिन पुस ९ गते शनिबार राति ९ बजे हाराहारीमा फेसबुकमै गद्य शैलीमा लेख्नु भएको थियो, नयाँ सांसदहरु, नयाँ गफाडीहरु, उही पुरानो देश, उही पुराना व्यापारीहरु ।

फागुन १३ गते शनिबार दिउँसो बालेनले आफूलाई मेयरबाट हटाउन खोजिरहेको अभिव्यक्ति फेसबुकमा राख्नुभयो । त्यसै दिन राति साढे ८ बजे बालेनको अर्को स्टाटस आयो, आई डोन्ट गिभ अप ।

फेसबुकममा अन्ट सन्ट लेख्न नरोकिएका मेयर शाहले आज बिहानै अर्को स्टाटस लेख्नुभयो । उहाँको भनाइ थियो, देश सफा गर्नु परे नेताहरुलाई नै सिस्डोलमा डम्प गर्नुपर्छ । साथै उहाँले आजदेखि सिंहदरबारको फोहोर पनि नउठ्ने घोषणा गर्नुभयो ।

त्यसलगत्तै आफ्नो अर्को आइडीबाट उहाँले भारत र चीनले बनाइदिएको सरकारको कुनै इज्जत नगर्ने अभिव्यक्ति दिनुभयो ।

हरेक व्यक्तिको आफ्नै मर्यादा हुन्छ, सार्वजनिक पद धारण गरेको व्यक्ति त फगत व्यक्ति मात्र होइन संस्था हुन्छ र त्यसरी नै उसले आफ्नो मर्यादा जोगाएर राख्नुपर्छ । तर बालेनले न आफ्नो पदीय मर्यादाको ख्याल गर्नुभएको छ, न त अभिव्यक्तिमा सभ्य शब्दहरु नै चयन गर्नुभएको छ ।

बरु अस्थिर राजनीतिक चरित्र देखिरहेको मासलाई उत्तेजित बनाएर वाहवाही पाइरहने ध्याउन्नमा इमोस्नल बनाइरहनु भएको छ ।

वर्तमान राजनीतिक प्रवृत्तिप्रति वितृष्णा पक्कै छ, तर वितृष्णा छ भन्दैमा कसैप्रति तुच्छ अभिव्यक्ति दिनु र पुष्टि गर्न नसकिने लाञ्छना लगाउनु सान्दर्भिक हुँदैन । राजनीतिको विकल्प राजनीति नै हो, सभ्य र सुसंस्कृत समाजले मात्र सुसंस्कृति विकल्प पनि स्थापित गर्न सक्छ । यस्तो कुरामा मेयरसाबले आफ्नो आवेग नियन्त्रण राख्नुपर्छ कि।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *